आकर्षक पर्यटकीय गन्तव्य बन्दै पत्तालेडाँडा

सन्तोष राउत

पत्ताले (सोलुखुम्बु) । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा पर्ने पत्तालेडाँडा पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । खुलेको मौसममा विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनांँै हिमालको दृश्यावलोकन गर्न सकिने मनोरमस्थल पत्तालेडाँडामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न थालेको छ ।

घुमफिर गर्न चाहने आन्तरिक पर्यटकका लागि पत्तालेडाँडा एउटा सुन्दर पर्यटकीयस्थलका रुपमा विकसित हन थालेको छ । सोलुखुम्बु र ओखलढुङ्गाको सिमानामा पर्ने पत्तालेडाँडा भारतीय पर्यटक तथा राजधानी काठमाडौँ र तराईका क्षेत्रबाट छोटो दुरीमा रहेको सुन्दर पर्यटकीय क्षेत्र भएको पत्तालेका स्थानीय अगुवा प्रकाशमगरले बताउनुभयो । ‘सगरमाथा, मकालु, कञ्चनजंगा, लोत्से, नुम्बुर, कार्यालुङ, चोलाच्छे, ताबोचे, पुमोरी, खुम्बुचे, थामसेर्कुलगायतका मनोरम हिमालका दृश्यावलोकन गर्नको लागि धेरै पर्यटक आउने गरेका छन्’ उहाँले भन्नुभयो ।

पछिल्लो समय स्थानीय होटल समेत व्यवस्थित बन्दै गएको र पर्यटकको चाहनाअनुसार सेवा दिन कुक तालिम समेत दिएको भन्दै विभिन्न अवसर पारेर सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङलगायतका आन्तरिक पर्यटक आउने क्रम बढ्न थालेको उहाँले बताउनुभयो । समुद्र सतहदेखि करिब तीन हजार मिटरको उचाइमा अवस्थित पत्ताले क्षेत्रमा आन्तरिक पर्यटकको विदाको समय सदुपयोग गर्नका लागि पनि घुइँचो लाग्ने गरेको छ ।

पत्तालेडाँडाबाट खुलेको मौसममा सोलुखुम्बुको अधिकांश भू–भाग, खोटाङ, ओखलढुङ्गा, उदयुर, भोजपुर तथा ठम्याउन सक्नेले तराईका विभिन्न भू–भाग समेत दृश्यावलोकन गर्न सकिन्छ । ओखलढुङ्गाबाट घुम्न आउनुभएकी पार्वती श्रेष्ठले भन्नुभयो, ‘मैले त यतिधेरै मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ भन्ने सोचेको पनि थिइन, साँच्चिके सुन्दर रहेछ ।’

‘पत्तालेडाँडामा पूर्वाधारको विकासको खाँचो छ, पत्तालेडाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना बनाएर पुर्वाधार विकास तथा प्रचारप्रसार गर्न सके भविष्यमा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ, रोटरी क्लब अफ काठमाडाँैबाट आउनुभएका दिवाकर केसीले भन्नुभयो । गर्मी सिजनमा समेत चिसो वातावरण हुने यहाँ पर्यटन प्रवद्र्धनका लागि घरबास (होम स्टे) सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

राजधानीबाट समेत छोटो दुरीमा रहेको यो क्षेत्रमा हवाई तथा सडक मार्गबाट पुग्न सकिन्छ । सडक मार्गबाट विपी राजमार्गको प्रयोग गरी काभ्रेको धुलिखेल, सिन्धुलीको खुर्कोट, हर्कपुर, ओखलढुङ्गा बजार हुँदै पत्ताले पुगिन्छ भने हवाईमार्गबाट काठमाडौँबाट हवाईजहाज चढेर करिब ३० मिनेटमा सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थल हुँदै फाप्लुबाट करिब एक घण्टाको सडक यात्रापछि पत्ताले बजार पुगिन्छ डाँडामा पुग्न बजारबाट करिब ४० मिनेट उकालो हिड्नुपर्दछ ।

पत्तालेडाँडा भएर सोलुखुम्बुको पर्यटकीयस्थल नेले, काँगेल, मुक्लि, देउसा, पावै, सोताङ, बुङको मेरापिक हँुदै सगरमाथाको आधारशिविरसम्म पुग्न सकिने भएकाले यसलाई पर्यटकीय मार्गका रुपमा विकास गर्न सकिने स्थानीय बताउँछन् । सडक मार्ग हुँदै आउन चाहनेले खोटाङको हलेसी महादेवको दर्शन गरी पत्तालेडाँडा जान सकिन्छ ।

पत्तालेडाँडामा रहेको गौरीटापमा प्राकृतिक रुपमा गाईको पाइला तथा हात्तीको सुडसहितको गणेशको स्वरुप देखिने धार्मिकस्थल र चाँगेस्थान मन्दिर भएकाले पनि त्यहाँको आकर्षण थपिएको हो । आर्थिक हिसावले सस्तो पर्यटकीय गन्तव्य मानिने त्यस क्षेत्रमा आउने पर्यटकले समय भएमा नजिकमा रहेका जुनबेसी, पिकेडाँडा, थुप्तेन छोलिङ गुम्बा, चिवाङ गुम्बा, दुधकुण्ड पोखरीलगायका आर्कषक क्षेत्र पनि घुम्न सक्छन् । पछिले समय यस क्षेत्रमा चलचित्रको छायाङ्न समेत हुने गरेको छ । पत्तालेबजारमा शुक्रबार साप्ताहिक हाट लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार