काठमाडौंँ, असार ४ गते । स्थानीय तहको दोस्रो चरणको चुनावमा निर्वाचन आयोगले मनोनयन दर्ता गर्न आइतबार बिहान ८ देखि साँझ ४ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरी दोस्रो चरणको निर्वाचन तयारी पूरा भएको जानकारीसमेत दिएको छ ।
प्रदेश नं. १, ५ र ७ मा हुने निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्था पनि भरपर्दो बनाएको भन्दै आयोगले निर्धक्क भएर मनोनयन दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । दोस्रो चरणमा एक महानगरपालिका (विराटनगर), सात उपमहानगरपालिका, एकसय ११ नगरपालिका र दुईसय १५ गाउँपालिका गरी ३३४ स्थानीय तहमा निर्वाचन हुने आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिनुभयो । यस निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिँदैछन् । त्यसबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुने आयोगले जानकारी दिएको छ ।
असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि चारहजार ५८१ मतदान स्थल र त्यसका लागि आठ हजार ३६४ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचनमा सुरक्षाकर्मीबाहेक मात्रै ६६ हजार ९०० कर्मचारी खटिन लागेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।
दलका तर्फबाट उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने, वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । महिला, दलित, अल्पसङ्ख्यकलगायत उम्मेदवारका लागि मनोनयन दर्ता शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको आयोगले जानकारी दिएको छ ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, पारदर्शी, भयरहित र विश्वसनीय बनाउन सरकारका तर्फबाट सुरक्षाको प्रतिबद्धता आएको बताउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन सबै मतदातालाई अपिल गरेको छ । मतदान प्रक्रियामा कसैले अवरोध सिर्जना गर्न खोजे सुरक्षाकर्मीले तदारुकतासाथ त्यसलाई निरुत्साहित गरी शान्ति सुरक्षाको व्यवस्था गर्नेमा आयोग विश्वस्त रहेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।
निर्वाचनलाई थप विश्वसनीय बनाउन फागुन १८ देखि आचारसंहिता कार्यान्वयनमा रहेको र त्यसको अनुगमनका लागि आयोगका आयुक्तको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति बनाइएको आयोगले जानकारी दिएको छ । आचारसंहिता उल्लङ्घन गर्नेलाई जरिवाना गर्नसक्ने कानुनी व्यवस्था छ । केही संवेदनशील जिल्लामा सूक्ष्म अनुगमनकर्ता पनि खटाइएको आयोगले जानकारी दिएको छ ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रदेश नं १, ५ र ७ मा आठ हजार ३५० कर्मचारी मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरिएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिनुभयो । त्यसको अलावा सञ्चारमाध्यममा पनि मतदाता शिक्षासम्बन्धी १६ भाषाका सूचना तथा सन्देश प्रकाशन र प्रसारणको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । पहिलो चरणको निर्वाचनको अनुभवलाई समेत ध्यानमा राखी दोस्रो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने सरकारले प्रतिबद्धता जनाएको प्रमुख आयुक्त डा. यादवले बताउनुभयो । दोस्रो चरणको निर्वाचन पर्यवेक्षणका लागि ४७ संस्थाका करिब सात हजार ८९ जना पर्यवेक्षकलाई अनुमति दिइएको आयोगले जानकारी दिएको छ ।
आयोगले यसअघिको पहिलो चरणको निर्वाचनमा १२ वटा कूटनीतिक नियोगका सदस्यलाई निर्वाचन अवलोकनको व्यवस्था गरेको थियो भने दोस्रो चरणको निर्वाचनमा काठमाडौँ उपत्यकामा रहेका कूटनीतिक नियोगका सदस्यलाई विभिन्न ८ सहरमा निर्वाचन अवलोकनको व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त यादवले बताउनुभयो ।
उहाँका अनुसार प्रदेश नं १ को विराटनगर र धनकुटा, प्रदेश नं. ५ को भैरहवा र पाल्पा, प्रदेश नं ७ को धनगढी र डडेल्धुरामा अवलोकन भ्रमणको व्यवस्था गर्ने तयारी पनि आयोगले गरेको यादवले बताउनुभयो । त्यस्तै, निर्वाचनसँग सम्बन्धित सूचना तथा जानकारीका लागि आयोगमा कल सेन्टर सञ्चालनमा रहेको र केही संवेदनशील मतदान स्थललाई अत्याधुनिक प्रविधिको प्रयोग गरी आयोगबाट सोझै अनुगमनको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
प्रथम चरणको निर्वाचन सफल बनाउनमा सञ्चारमाध्यमको अहम् भूमिका रहेकोमा प्रशंसा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले दोस्रो चरणको निर्वाचनमा पनि आयोगले सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई आग्रहसमेत गर्नुभयो ।