हिमशिखर समाचारदाता
सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. ६ को राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षका उम्मेदवारले नेपाली काँग्रेसका उम्मेदवारलाई समर्थन गर्नु भएको छ । राप्रपाका तार्देन शेर्पाले उम्मेदवारी फिर्ता लिएर काँग्रेसका नारायणकाजी श्रेष्ठलाई समर्थन गर्ने घोषणा गर्नुभएको हो ।
शेर्पाले एक प्रेस विज्ञप्ती प्रकाशन गरी व्यवहारिक कारणबाट आफूले उम्मेदवारी फिर्ता लिएको र यस वडाका इमान्दार तथा सहयोगी काँग्रेसका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई समर्थन गर्ने बताउनुभयो । शेर्पा उद्योग वाणिज्य सङ्घका जिल्ला सचिव हुनुहुन्छ ।
शेर्पा राजनीतिक पृष्ठभूमिबाट आएकाले त्यस वडामा राम्रो पक्कड भएको युवा नेताका रुपमा लिइने स्थानीयको भनाइ छ । त्यस वडामा मुख्य गरी नेपाली काँग्रेस, नेकपा एमाले र राप्रपा बीच प्रतिस्पर्धा रहेको अनुमान भइरहेका बेला राम्रो मत भएका शेर्पाले काँग्रेसका उम्मेदवारलाई समर्थन गरेकाले सहज जीत हुने काँग्रेसका उम्मेदवार नारायणकाजी श्रेष्ठले दाबी गर्नुभयो ।
यस वडामा शेर्पाले उम्मेदवारी फिर्ता लिएपछि अब काँग्रेसका श्रेष्ठ, नेकपा एमालेबाट रामकुमार श्रेष्ठ, माओवादी केन्द्रबाट गोम्बु शेर्पा र संघीय समाजवादी फोरमबाट ङिमा शेर्पा मैदानमा बाँकी रहेका छन् ।