पहिलो पटक सोलुमा दमकल

सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक वारुण यन्त्र भिœयाइएको छ । सोलुदुधकुण्ड नगरपालिकाको कार्यालयले जिल्लामा वारुण यन्त्र ल्याएको हो ।

सदरमुकाम सल्लेरीमा बढ्दो सहरीकरणसँगै पछिल्लो समय नगरपालिकाभित्र भौतिक संरचना बन्ने क्रम बढ्दै गएको र बाक्लो बस्तीका कारण वर्सेनि आगलागीबाट करोडौँको क्षति भइरहेकाले त्यसलाई कम गर्न दमकल खरिद गरिएको नगरपालिकाका कार्यकारी अधिकृत इन्दिरा थापाले बताउनुभयो ।

नेपाल सरकार स्थानीय विकास मन्त्रालयले उपलब्ध गराएको ५२ लाख रुपियाँ र नगरपालिका कार्यालयको आन्तरिक लगानी एक लाख रुपियाँ गरी कुल ५३ लाख ९५ हजार रूपियाँको लागतमा दमकल खरिद गरिएको नगरपालिकाका लेखा अधिकृत तथा सुचना अधिकारी योग्यप्रसाद राई जानकारी दिनुभयो ।

सरकारी प्रावधानअनुसार कार्यालयले बोलपत्र आह्वान गरी म्याप इण्टरप्रेनर्स प्रालि काठ्माण्डौँमार्फत दमकल खरिद गरी जिल्लामा भिœयाइएको उहाँले बताउनुभयो । दमकलको चार हजार पाँच सय लिटर क्षमता रहेको र यसले करिब ५५ मिटर टाढासम्म आगो निभाउन सक्ने बताइएको छ ।

जिल्लामा वारुणयन्त्र ल्याएसँगै तत्कालका लागि व्यवस्थापनको जिम्मेवारी कसलाई दिने भन्ने अन्योल देखिएको छ । जनशक्ति व्यवस्थापन सहति सञ्चालनको जिम्मेवारी जिल्लास्थित सेनालाई दिन अनुरोध गर्ने तयारी भइरहेको नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले जानकारी दिनुभयो । उहाँँका अनुसार दमकल व्यवस्थापनका लागि दक्ष प्रशिक्षक ल्याएर स्थानीयलाई समेत तालिम दिने आयोजना रहेको छ ।

उहाँले कुनैपनि बेला दमकल प्रयोग गर्नुपरेमा सेनाको प्रयोग गर्ने र इन्धनलगायतको खर्च नगरपालिका कार्यालयले बेहोर्ने बताउनुभयो । विभिन्न समयमा हुने गरेको आगलागीका घटनाबाट ठूलो धनसम्पत्तिको क्षति बेहोर्दै आइरहेको अवस्थामा लामो समयपछि पहिलो पटक वारुणयन्त्र आएपछि त्यस्ता घटनाको न्यूनीकरण गर्न सहयोग पुग्ने जिल्लाबासीले अपेक्षा गरेका छन् । विगतमा प्रत्येक वर्ष सल्लेरीमा आगलागीबाट दर्जनौँ घरमा क्षति हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार