जेपी थुलुङ/सोताङ
निर्वाचित भएदेखिनै सोलुखुम्बुको सोताङ गाउँपालिका प्रमुख र वडा सचिव बेपत्ता भएपछि स्थायीनबासीले गाउँपालिकाबाट पाउने सेवा पाउन नसकेको गुनासो गरेका छन् ।
आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगले हाल फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको समयमा गाउँपालिका प्रमुख र वडा सचिवनै कायर्नलयमा नभएपछि स्थानीयले व्यापक गुनासो गर्न थालेका छन् ।
वडा सचिव नभएपछि मतदाता नामावली संकलनका लागि उमेर पुगेका तर नागरिकता नभएका दर्जनौँ व्यक्ति सेवाबाट बञ्चित भएका छन् । वडा सचिव बिनोद केसीले आफू गाउँकै काम लिएर सदरमुकाम रहे पनि पञ्जिकरण बाहेकका सबै काम वडाअध्यक्षको सिफारिसमा हुने बताउनुभएको छ ।
तर स्थानीयले भने सचिव नभई काम नहुने भन्दै घर फर्कने गरेका छन् । त्यस्तै, नव निर्वाचित जनप्रतिनिध वीरबहादुर राई पनि लामो समयदेखि नै राजधानी केन्द्रित भएपछि गाउँपालिकाको कामकाजनै लथालिङ्ग भएको स्थानीयको भनाइ छ ।
निर्वाचन जित्नका लागि जनतालाई ठुलो लोभ देखाएको तर जनतालाई समस्या परेका बेला जनप्रतिनिधि कुन कुनामा पसेको सोताङका स्थानीय धनकुमार विकले गुनासो गर्नुभयो । यस्तै, सोताङका स्थानीय सन्तोष खड्का पनि जनप्रतिनिधि नभएपछि सामान्य सिफारिस लिनका लागि चारदेखि पाँच दिनसम्म समय खर्चिनु परेको बताउनुहुन्छ ।
नेकपा एमालेबाट जनप्रचिनिधिका रुपमा निर्वाचित अध्यक्ष वीरबहादुर राई लामो समयसम्म राजधानी केन्द्रित भएपछि आफ्नै कार्यकर्ताले समेत गाउँपालिका प्रमुख कता वेपत्ता भएको भन्न थालेका छन् । स्थानीयको व्यापक गुनासोपछि टेलिफोन गर्दा राईले फोन उठाउनु भएको छैन ।