राम्चे गाउँमा फैलिएको महामारी नियन्त्रणतिर, आफ्नै पैसाले वडा अध्यक्षले ल्याए हेलिकप्टरबाट औषधी

हिमशिखर समाचारदाता
सोलुखुम्बु, भदौ १ गते । सोलुखुम्बुको दूधकौशीका गाउँपालिका–४ जुबुको राम्चे गाउँमा २५ घरपरिवारका करिब १५० जना भन्दा बढी बिरामी हुने गरी अचानक फैलिएको महामारी नियन्त्रणतिर उन्मुख भएको छ । छ दिनयता पूरै गाउँका मानिस झाडापखाला र टाइफाइडबाट बिरामी परेको जुबु स्वास्थ्य चौकीका इन्चार्ज रामनारायण मेहेताले बताउनुभयो ।

अस्पताल आउने बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, झाडावान्ता आउने समस्या देखिएको मेहेताको भनाइ छ । केही बालबालिका अन्तिम अवस्थामा पुगेकोमा जिल्ला अस्पतालबाट डा. राजेन्द्र बस्नेतको नेतृत्वमा प्रयोगशाला र औषधी सहित गएको टोलीको उपचारपछि सुधारोन्मुख अवस्थामा रहेको बताइएको छ । समस्या पहिचान नभएकै कारण थप उपचारका लागि जिल्ला अस्पतालबाट टोली जानु परेको हो ।

प्रदुषित खानेपानीका कारण महामारी फैलिएको स्थास्थ्य टोलीले बताएको छ । डाक्टरको टोलीले स्थानीयलाई अहिले खानपानी, पानीको प्रयोग, सरसफाईलगायतको सामान्य स्थास्थ्य शिक्षा समेत दिइरहेको बताइएको छ । अझै दर्जनौँ बिरामी स्वास्थ्य चौकीमा उपचार गराइरहेको बताइएको छ भने अधिकाँस डिस्चार्ज भएका छन् ।

वडा अध्यक्षले पु¥याए निजी पैसाले हेलिकप्टरबाट औषधी

सडक यातायातको पहुँच नपुगेको भौगोलिक रुपमा विटक तथा सदरमुकामबाट धेरै टाढा रहेको जुबुमा महामारी नियन्त्रणमा ल्याउन आवश्यक पर्ने विभिन्न किसिमका औषधी हेलिकप्टरबाट ल्याइएको छ । नवनिर्वाचित वडा अध्यक्ष नातीकाजी गुरुङले करिब ६० हजार रुपियाँ बराबरको औषधी व्यक्तिगत लगानीमा हेलिकप्टर चार्टड गरी बिहीबार ल्याउनुभएको इन्चार्ज मेहेताले जानकारी दिनुभयो ।

जिल्लामा सबै किसिमका औषधी नभएको तथा छिटो उपचार गर्नका लागि राजधानीबाट हेलिकप्टर प्रयोग गरेर औषधी लगिएको हो । वडा अध्यक्षले निजी लगानीमा जनताका लागि औषधी ल्याएपछि स्थानीयले प्रसंशा गरेको स्थानीय यूवा भानुभक्त उपाध्यायले बताउनुभयो । ‘सिङ्गै गाउँ महामारीबाट आक्रान्त भएका बेला हेलिकप्टरबाट औषधी ल्याएर जनताको ज्यान बचाउन सहयोग गर्नु भएको छ, उहाँ साच्चिकै जनप्रतिनिधि लाग्यो’ उहाँले भन्नुभयो ।
यसैबिच प्रकोपका कारण समयमै उपचार नपाउँदा स्थानीय सुरुमा एक किशोरको ज्यान गएको छ । समयमा उपचार नपाउँदा दूधकौसिका गाउँपालिका–४ राम्चेका रामबहादुर पुरीका छोरा राकेश पुरीको ज्यान गएको हो । झाडापखालाको बिरामी परेको दुई दिन हुँदासमेत बालकलाई अस्पताल पु¥याइएको थिएन ।

राकेशको शुक्रबार राति अस्पताल लैजाँदा बाटोमै ज्यान गएको हो । झाडापखालाका बिरामी उनलाई धामीको भरमा घरमै राखिएपछि मृत्यू भएको जुबु स्वास्थ्य चौकीका इन्चार्ज रामनारायण मेहेताको भनाइ छ । मृतक यूवा जुबुमै कक्षा ९ मा अध्ययनरत थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार