छ हजारले फोटो सहितको नामावली दर्ता गरे


हिमशिखर समाचारदाता

सोलुखुम्बु । सोलुखुम्बुमा छ हजार भन्दा बढीले फोटो सहितको मतदाता नामावली दर्ता गरेका छन् । साउन महिनाभरीमा जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बु तथा सात वटा स्थानीय तहमा छ हजार ८१ जनाले मतदाता नामावली सङ्कलन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी जगनाथ दाहालले जानकारी दिनुभयो ।

दुई हजार ७८६ महिला र तीन हजार २९५ पुरुष मतदाता रहेका छन् । कार्यालयकाअनुसार गाउँपालिकामा भदौ १६ गतेबाट नामावली सङ्कलन सुरु भएको थियो । जसमा सोलुदुधकुण्ड नगरपालिकामा दुई हजार छ सय, खुम्बु पासाङल्हमू गाउँपालिकामा ३६७, लिखुपिकेमा गाउँपालिकामा १५५, दुधकोशी गाउँपालिकामा ४७१, दुधकौशिका गाउँपालिकामा ३४९, नेचा सल्यान गाउँपालिकामा ६१०, सोताङ गाउँपालिकामा ७३८ र महाकुलुङ गाउँपालिकामा ७९१ जना मतादाता नामावली दर्ता गरिएको अधिकारी दाहालले बताउनुभयो ।

स्थानीय तहमा नामावली सङ्कलनको समय सकिएपछि पनि जिल्ला निर्वाचन कार्यालयमा भने निर्वाचनको मिति घोषणा नभएसम्म नामावली दर्ताको काम भइरहने जिल्ला निर्वाचन अधिकारी खिमादेवी लङ्वाले बताउनुभयो । हाल जिल्ला निर्वाचन कार्यालयबाट पनि मतदाता परिचयपत्रका लागि फोटो खिचाउने काम भइरहेको छ ।

प्रदेश र केन्द्रको निर्वाचनका लागि भन्दै आयोगले फोटो सहितको मतदाता नामावली सङ्कलन कार्य शुरु गरेको हो । सुरुका दिनमा नामावली दर्ता गर्न भ्याईनभ्याई भएको कार्यालयले जनाएको छ । कार्यालयले साउनभरीमा पाँच हजारको हाराहारीमा मतदाताको नामावली सङ्कलन गर्ने अनुमान गरेकोमा छ हजार जना नाघेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार