सोलुखुम्बु । आन्तरिक विवादमा रहेको सोलुखुम्बुको काँग्रेसका तीन वटा गुटले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय गुटले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पुर्व पार्टी सभापति आङगेलु शेर्पा र समानुपातिकतर्फ केन्द्रीय सदस्य बलबहादुर केसीको नाम पठाएको छ । त्यस्तै, पुरुषोत्तम बस्नेतको गुटले गोकर्ण राईलाई प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारमा सिफारिस गरेको छ ।
देउवा पक्षबाट प्रतिनिधिसभाको समानुपातिकमा केसीका अतिरिक्त केशरबाबु थुलुङ, रामबहादुर बस्नेत, पुरुषोत्तम बस्नेत, प्रभुराम बस्नेत, गोकर्ण राई, छत्रध्वज बस्नेत, चन्द्रप्रसाद आचार्य, सरला नाछिरिङ, धर्मबहादुर नेपाली र टंकीमाया बस्नेतको नाम सिफारिस गरेको छ । प्रदेश सभाको १ नम्बर क्षेत्रका लागि प्रत्यक्षतर्फ कृष्णप्रसाद निरौला, प्रकाशसिंह कार्की र सुर्य कुलुङको नाम केन्द्रमा पठाईएको छ भने समानुपातिकतर्फ गणेश बस्नेत, दुर्गाप्रसाद दर्जी, कृष्ण कट्टेल, शंकर कार्की र गिता गुरुङको नाम सर्वसम्मत छनौट गरिएको छ । प्रदेशसभाकै क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ मनोज खड्का, कर्मा शेर्पा र मंगलसिं तामाङको नाम चयन गरिएको छ भने समानुपातिकतर्फ डोल्मा तामाङ, राजन बस्नेत, कर्ण विश्वकर्मा र साङ्गा राईको नाम पठाइएको छ ।
यता काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी पक्षको नेपाली काँग्रेस जिल्ला समिति सोलुखुम्बुले पनि प्रदेश तथा प्रतिनिधिसभाको लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ बलबहादुर केसी र खिलराज बस्नेतको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ प्रभुराम बस्नेतको नाम छनौट गरेको छ ।
प्रदेश सभाको लागि १ नम्बर क्षेत्रमा प्रत्यक्षका लागि विनोदकुमार बस्नेत, धनजन राई र समानुपातिकका लागि कुसराज राई र जयप्रसाद राई, नाम तय गरेको जिल्ला सचिव धनजन राईले जानकारी दिनुयभो । त्यस्तै, प्रदेशको क्षेत्र नम्बर २ का लागि प्रत्यक्षतर्फ आङगेलु शेर्पा, कुसाङ शेर्पाको नाम पठाएको राईले बताउनुभयो । क्षेत्र नम्बर २ को समानुपातिकका लागि प्रेमबहादुर थापामगर, भोजराज कार्कीको नाम पठाएको छ । समावेशीतर्फ अशोक झा र पदमबहादुर नेपालीलाई सिफारिस गरेको छ ।
उता पुर्व सभाषद पुरुषोत्तम बस्नेतको प्यानलबाट प्रतिनिधी सभाको प्रत्यक्षमा गोकर्ण राईको नाम सिफारिस गरेको छ । समानुपातिकमा भने पुरुषोत्तम बस्नेतलाई सिफारिस गरिएको बताइएको छ । बस्नेत प्यानलमा प्रदेश क्षेत्र नं. १ बाट प्रत्यक्षमा सूर्य कुलुङ, छत्रध्वज बस्नेत र हेबबहादुर खड्काको नाम सिफारिस गरेको छ । प्रदेश क्षेत्र नं. २ मा भने मंगलसिं तामाङको नाम मात्र सिफारिस गरिएको छ ।
स्थानीय तहको चुनावमा प्रमुख र उपप्रमुखबाट पराजित उम्मेदवारले पनि प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार बन्न नपाउने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेको भएपनि सोलुबाट स्थानीय तहमा हारेका समेत परेका छन् । केसी प्यानलबाट सिफारिस भएका खिलराज बस्नेत, धनजन राई, भोजराज कार्की स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका हुन् । त्यसैगरी शेर्पा प्यानलबाट सिफारिस भएका रामबहादुर बस्नेत पनि गाउँपालिका अध्यक्षमा पराजित भएका हुन् । सोलुबाट स्थानीय तहको निर्वाचनमा बागि उम्मेदवार दिएका, प्रस्तावक र समर्थकलाई थप कार्बाहीका लागि केन्द्रिय अनुसाशन समितिलाई सिफारिस गर्ने समेत निर्णय गरेको छ ।