सन्तोष राउत
सोलुखुम्बु । जिल्ला सामूदायिक आँखा केन्द्र, फाप्लु सोलुखुम्बुमा हालसम्म ६० हजार भन्दा बढीले आँखा जाँच सम्बन्धी सेवा लिएका छन् । सन् २००३ देखि हालसम्म एक हजार २६४ जनाको आँखाको अप्रेशन गरिएको छ ।
सन् २०१६ मा फाप्लु केन्द्रमा चार हजार ९८२ जना, एक दिने शिबिरमा दुई हजार २४१ जना, बिद्यालय आँखा जाँच कायक्रममा एक हजार ११६ जनाको आँखा परीक्षण गरिएको छ घने शिविरमा ४८३ जनाको शल्यक्रिया, मोतिबिन्दुको शल्यरक्रिया ७४ जनाको गरिएको छ । केन्द्रबाट एक हजार ५८० जनाले चश्मा प्रायेग गरेका छन् ।
यस वर्ष जनवरीदेखि अगष्ट महिनासम्ममा छ हजार ३२५ जनाको आँखा परीक्षण गरिएकोमा जिल्ला सामुदायिक आँखा केन्द्रबाट तीन हजार ३११ जना र सामूदायिक आँखा कार्यक्रमबाट तीन हजार १४ जनाको परीक्षण गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिनुभयो । जसमा ६९ जनाको मोतिबिन्दुको शल्यक्रिया शल्यक्रिया गरिएको छ ।
त्यसका अतिरिक्त आँखा केन्द्रले शिक्षक, स्वास्थकर्मी, आमा समूह, स्वास्थ्य स्वयंसेविकालाई आँखा स्वास्थ तालिम पनि सञ्चालन गर्दै बार्षिक रूपमा विशेषज्ञस्तरीय आँखा शिबिर सञ्चालन गर्दै आइरहेको छ । प्रमुख बस्नेतले बिहीबार ‘सबैका लागि आँखा स्वास्थ्य, दृष्टिको महत्व बुझौँ, विश्व दृष्टि दिवस मनाऔँ’, भन्ने नाराका साथ मनाइएको विश्व दृष्टि दिवसका अवसरमा गरिएको पत्रकार सम्मेलनका क्रममा यस्तो जानकारी दिँदै आँखा केन्द्रले सोलुदुधकुण्ड नगरपालिकाको ग्रामिण क्षेत्र जैदुमा चेतनामूलक अभिमूखिकरण कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
अभिमूखीकरणमा सहभागी करिब एक सय सर्वसाधारणलाई आँखाको रोग तथा सुरक्षाका बारेमा जानकारी दिइएको छ । प्रमुख बस्नेतले बालबालिकाको आँखा सुरक्षामा अविभावकले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्रविधिको विकाससँगै लामो समय टेलिभिजन र मोबाइल हेर्ने, खेल खेल्ने, कार्टुन हेर्ने बानीले बालबालिकाको आँखामा असर पार्ने भएकाले अविभावकले ख्याल गर्नुपर्ने उहाँको भनाइ छ ।
प्रमुख बस्नेतले अधिकांश नागरिक आँखाको सुरक्षामा संवेदनशील नबने गरेकाले पनि दृष्टि गुमाउन पुग्ने गरेको बताउनुभयो । जिल्ला सामुदायिक आँखा केन्द्रमा बुढ्यौली उमेर समूहका सर्वसाधारण आँखा परीक्षणका लागि आउने गरेको उहाँको भनाइ छ । आँखा केन्द्रले चालु बर्षमा पनि आँखा सुरक्षाको चेतना प्रवाह गर्न विभिन्न माध्यमवाट प्रचार, विद्यार्थीको आँखा परीक्षणका लागि स्कुल कार्यक्रम, शिविरलगायतका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन जिल्लामा आँखा स्वास्थ्य सेवा कार्यक्रमसँग सम्बन्धित सबै सरोकारवालाबीच समन्वय गराउँदै एकीकृत स्वास्थ्य सेवा प्रणालीमा जोड दिनु विश्व दृष्टि दिवसको पहिलो प्राथमिकता रहेको बस्नेतले बताउनुभयो ।
उहाँकाअनुसार नेपालमा नेपालमा करिब एक लाख मानिसहरु दृष्टि बिहीन छन् भने करिब ५० वर्ष र त्यसमाथिका जनसंख्यामा २.५ प्रतिशत दृष्टिबिहीन छन् । नेपालमा अन्धोपनाको ६६% अन्धोपन उपचार गर्न सकिने खालका छन् भने नेपालको कुल जनसंख्यको ०.३५% मानिसहरुमा अन्धोपन छ । जसमा मोतिविन्दु र यस सम्बन्धित ६५%, आँखाको पर्दाजन्य रोगहरु ९%, जलविन्दु ५%, आँखाको नानीमा हुने अन्धोपना ६%, दृष्टिदोष ४% रहेको पाइएको छ ।
संसारमा झण्डै २८ करोड ५० लाख मानिसहरुमा दृष्टि कम र अन्धोपना रहेको देखिएको छ । जसमध्ये हटाउन सकिने अन्धोपना कुल दृष्टिविहिन हुने कारणमध्ये ८०% भएको पाइएको छ । जसमध्ये ३ करोड ९० लाख मानिसहरुमा अन्धोपन देखिएको छ र २४ करोड ६० लाखमा दृष्टि दोष देखिएको छ । अनुमानित १ करोड ९० लाख बालबालिकाहरुमा दृष्टि दोष देखिएको छ । कूल दृष्टि दोषमध्ये झण्डै ६५% मानिसहरु ५० वर्ष र त्यसमाथिका उमेरका छन् । दृष्टि दोष भएकामध्ये ९०% मानिसहरु विकासोन्मुख देशमा बसोबास गर्दछन् । विश्वमा पाको उमेरको जनसंख्या वढ्दै गईरहेको हुनाले ठुलो जनसंख्यामा उमेरका कारणले निम्त्यउने अन्धोपनाको जोखिम रहेको छ । हालको स्थानीय तहअनुसार गाउँ गाउँमा आँखा उपचार सेवालाइ बिस्तार गर्दै सामूदायिक स्वास्थ्य केन्द्रमा एकीकृत गर्नुपर्ने आवश्यकता रहेको केन्द्रले जनाएको छ ।