तिङ्लावासीले निर्वाचन बहिष्कार गर्ने चेतावनी

सन्तोष राउत

सोलुखुम्बु । भर्खरै दोस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचन ‘नो भोट नो क्यान्डिडेट’ भन्दै बहिष्कार गरेका सोलुखुम्बुको साबिक तिङ्ला गाविस अर्थात हालको नेचासल्यान गाउँपालिका–६ का स्थानीयले अब हुन लागेको प्रदेस तथा प्रतिनिधि सभाको निर्वाचनमा भाग नलिने सम्भावना बढ्दै गएको छ ।

स्थानीय तहको पुनःसंरचनामा असन्तुष्टी जनाउँदै आन्दोलन समेत गरेको तिङ्लाबासीले यस पटक पनि माग सम्बोधन नभए अब हुन लागेको निर्वाचनमा समेत भाग नलिने बताएकाछन् । सोलुखुम्बुको तिङ्लालाई नेचा सल्यान गाउँपालिकामा गाभेर उत्पीडनमा पारेको भन्दै आन्दोलन गर्दै चुनाव बहिष्कारसम्म पुगेका थिए ।

अब हुने निर्वाचनमा भाग लिने वा नलिने भन्ने अहिले निश्चित भएको छैन, स्थानीय विकास मन्त्रालयमा सबै कागजी प्रक्रिया पु¥याएर माग सम्बोधनको प्रतिक्षामा छौँ, माग सम्बोधन भए निर्वाचनमा भाग लिन्छौँ नभए लिदैनौँ –तिङ्लाका नेपाली काँग्रेसका सभापति तथा अगुवा नैनबहादुर कार्कीले भन्नुभयो । उहाँकाअनुसार नेचासल्यान गाउँपालिकाको नगरपालिकामा जाने सहमति तथा नगरपालिकाले आउन दिने सहमति मन्त्रालयमा बुझाएको छ ।

आफ्नो वडाको प्रतिनिधि चुन्ने बेलामा त माग सम्बोधन नभएकै कारण निर्वाचनमा भाग लिएनौँ, अब त झन किन भाग लिने र ? –तिङ्लाका स्थानीय तथा नेकपा एमालेका जिल्ला कमिटी सदस्य शोभित बस्नेतले भन्नुभयो । अहिलेको अवस्थामा माग सम्बोधन हुने सम्भावना एकदम कम भएकाले निर्वाचनमा जाने सम्भावना ज्यादै कम भएको उहाँले बताउनुभयो । निर्वाचन क्षेत्र समेत फरक पर्ने भएकाले निर्वाचन क्षेत्र निर्धारण गर्दा गाउँपालिका नटुक्र्याउने एउटा आधार भएकाले निर्वाचनको संघारमा त्यसको सम्भावना कम भएको उहाँको भनाइ छ ।

सरकारले मागका बारेमा ध्यान नदिएर तिङ्लालाई वेवास्ता गरेको उनीहरुको आरोप छ । सरकारले प्रशासनिक दुर्गमता, भौगोलिक प्रतिकूलता तथा जनसंख्याको उचित प्रतिनिधित्व नगरी विभेद र बञ्चितीकरण गरेको, वर्तमान सरकारले तराईका जिल्लामा स्थानीय तहको संख्या थप गर्दा समेत दुर्गम हिमाली जिल्लाले गरेको आन्दोलनलाई बेवास्ता गरेकोले चाहाना हुँदाहुदैँ लोकतन्त्रको अभ्यास गर्ने सुनौलो अवसरबाट विमुख हुनु परेको तिङ्लबासी बताउँछन् ।

स्थानीय जनताको भावना बमोजिम जिल्ला प्राविधिक समितिको प्रतिवेदनअनुसार माग सम्बोधन गर्न आत्मसम्मान, स्वाभिमान र पहिचान स्थापित गराउन नजताको सेवा सुविधा र पहुँच स्थापित गर्ने गरी जनताको न्यायपूर्ण मागको सम्बोधन गर्नुपर्ने संघर्ष समितिले जनाएको छ ।
हाल नेचा सल्यान गाउँपालिकाको केन्द्र नेचा बेतघारीमा रहेकाले पहिलाको सदरमुकाम सल्लेरी भन्दा घण्टौँ बढी लाग्ने भएपछि तिङ्लाबासी यस्तो निर्णय गर्न बाध्य भएको बताउँछन् ।

पछिल्लो समय दुधकुण्ड नगरपालिकामा समायोजन गर्नुपर्ने उनीहरुको माग छ । माग पूरा नभए चुनाव बहिष्कार सहित तिङ्लामा पर्चा पम्प्लेट टाँस्न र प्रचार गर्न नदिने भएका छन् । तिङ्लामा ९४५ घरधुरीका दुईहजार ४७६ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार