सन्तोष राउत
सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–१ सल्यानकी १८ वर्षीया सरिता बस्नेतले लामो समय लाइनमा बसेर म्यादी प्रहरीको आवदेन दिनुभयो । यसअघिको स्थानीय निर्वाचनमा साथीहरु म्यादी प्रहरी भएको सुनेकी कक्षा ११ मा पढ्ने बस्नेतले अगामी मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि आह्वान गरिएको म्यादी प्रहरी भर्नाका लागि दरखास्त दिनुभएको हो । अगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउने अठोटका साथ आफूले म्यादी प्रहरीमा भर्ना हुनका लागि आवदेन दिएको बताउनुभयो । बेरोजगारी समस्या र घरायसी समस्याको कारण म्यादी प्रहरीमा आवदेन दिएको उहाँको भनाइ छ ।
त्यस्तै, ५० बर्षिया पदम भूजेलका बाबु छोरालेनै म्यादी प्रहरीका लागि जिल्ला प्रहरी कार्यालयमा आवेदन दिएका छन् । विगतका सबै निर्वाचन तथा गत स्थानीय निर्वाचनमा म्यादी प्रहरीको भूमिका निर्वाह गरिसकेका उहाँ भन्नुहुन्छ –रोजगारी छैन घरमा बसेर के गर्नु बरु म्यादी प्रहरीमा भर्ना भएपनि केही रकम पनि आजर्न हुन्छ र केही ज्ञान पनि आर्जन गर्न पाइन्छ ।
कार्यालयमा यस पटक स्थानीय निर्वाचनको भन्दा झण्डै दोब्बरको संख्यामा आवेदन परेको छ । यस पटक जम्मा एक हजार ६९ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक रेशम जानकारी दिनुभयो । आवदेन दिनेहरुमा मुख्यत बेरोजगारी, पूर्व म्यादी प्रहरीको आर्कषण, प्रहरी बन्ने इच्छुक, प्रहरीसँग काम गर्ने अवसरलगायतका कारणले म्यादी प्रहरीमा आवेदन दिनेहरु चाप बढेको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारका लागि प्रमाणपत्र काम लाग्ने भएकाले पनि म्यादी प्रहरीमा आकर्षण बढेको उहाँको भनाइ छ । असोज ३० गते सम्मको म्याद राखेर देशभरीबाट ९८ हजार २६८ जना म्यादी प्रहरी आवश्यक रहे पनि सोलुखुम्बुमा कति हुने अहिलेसम्म कुनै निर्देशन नआएको उहाँले बताउनुभयो ।
५५ दिनको कार्यअवधि रहने म्यादी प्रहरीहरुलाई नेपाल प्रहरीका जवान सरह आधारभूत तलब १७ हजार २३० रुपियाँको दरले ५५ दिनको लागि पारिश्रमिक, रासन र स्थानीय भत्ता उपलब्ध गराइने छ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो । यसका साथै निर्वाचनमा खटिने म्यादी प्रहरीलाई सात दिनको लागि प्रतिदिन २५० रुपियाँका दरले भत्ता र सात दिनकै लागि प्रत्येक दिन २५० रुपियाँका दरले खाजा र खाना खर्च उपलब्ध गराइने उहाँले बताउनुभयो ।