सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित दुधकोशी पर्यटन सहकारी संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई २० प्रतिशत मुनाफा वितरण गरेको छ । सहकारीले आर्थिक वर्ष २०७३÷७४ को आम्दानीबाट १० प्रतिशत नगद तथा १० प्रतिशत शेयर बोनस वितरण गरेको हो ।
आजको बचत भोलिको सुरक्षित र उज्जवल भविष्य भन्ने नाराका साथ भएको संस्थाको दशौँ बार्षिक साधारणसभमा संस्थाका सञ्चालक समिति अध्यक्ष मङ्गलसिं तामाङले आयव्यय प्रस्तुत गर्दै पर्यटकीय जिल्लामा सहकारी संस्थाले पर्यटनलाई विकास गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
सहकारीको कुल निक्षेप चार करोड ४४ लाख रुपियाँ रहेको छ भने कुल कारोबार छ करोड छ लाख १८ हजार रुपियाँ रहेको छ । कुल शेयर पुँजी ७६ लाख १६ हजार रुपियाँ रहेको छ । यस क्रममा असल तथा उत्कृष्ट बचतकर्तालाई सम्मान गरिएको छ । सहकारीबाट यूवा स्वरोजगार कार्यक्रम अन्तरगत कर्जा लिएर व्यापार व्यवसाय गर्ने १८ जना युवालाई ६० प्रतिशत ब्याज फिर्ता गरिएको छ । इमान्दार रुपमा नियमित ब्याज बुझाउने यूवा व्यवसायीलाई उक्त रकम प्रमाण पत्र सहित फिर्ता गरिएको हो ।
साधारण सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समतिका संयोजक वीरकुमार राईले कतिपय सहकारीले जनताको लगानी डुबाएको अवस्थामा मुनाफ वितरण गर्नु राम्रो काम भएको बताउनुभयो । सरकारको तिन खम्बे अर्थनीति अनुसार सहकारीले नेपाल जस्तो मुलुकमा जनताको जीवनस्तर उकास्ने काममा मद्दत गरेको उहाँको भनाइ छ ।
त्यस्तै, कृषि विकास बैंक सल्लेरीका प्रबन्धक मन्दिप कोइरालाले क वर्गका बैंक ग्रामिण क्षेत्रमा गएर सहज सेवा दिन नसकेका बेला सहकारीले सर्वसाधारणलाई सहज सेवा दिइरहेको बताउनुभयो । सहकारीले जनताको स्तरअनुसार साना लगानीमा जोड दिनुपर्ने उहाँको सुझाव छ ।
कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य गान्धीमाया तामाङ र काँग्रेस नेता नविन थापाले सहकारीको प्रभावकारीताका विषयमा प्रकाश पार्नुभएको थियो ।