तत्कालिन नेपाली काँग्रेसका जिल्ला नेता नुर्वुवाङ्डा शेर्पा र आङफुर्वा शेर्पाको कोखबाट २०२२ सालको पौषकोे चिसोमा साविकको तामाखानी गाविसमा जन्मिएका आङगेलु शेर्पाको शैसव र बाल्यकाल तामाखानीकै सेरेफेरोमा वित्यो । बाल्यकाल देखि नै चन्चल र चलाख स्वभावका आङगेलु शेर्पाले हालको जजामाविबाट एस.एल.सि. उत्तिर्ण गरे । वास्तविक उमेर १४ बर्षमा टकेका उनलाई तत्कालिन ब्यवस्थाका अनुसार एस.एल.सि. परीक्षा दिनकै लागि उनको उमरे कागजमा भने बढाईएको उनका बाबु नुर्वुवाङडा अहिले पनि सम्झन्छन् ।
बादविवाद र बक्तृत्वलामा सधैँ पहिलो
पढाईमा अब्बल शेर्पाले मावि तहसम्मको अध्ययनका क्रममा जिल्लामा सञ्चालित धेरै अतिरिक्त क्रियाकलापमा पहिलो स्थान हाँसिल गर्ने गर्थे । खेलकुद भन्दा पनि बौद्धिक प्रतियोगितामा रुचि राख्ने उनी जिल्लास्तरमा हुने वादविवाद र वक्तृत्वकला प्रतियोगितामा सधैँ प्रथम स्थान हाँसिल गर्थे । सानै देखि भाषण गर्ने, तर्क गर्ने अनि मञ्चमा गएर बोल्ने उनको विशेषतै थियो । सानो जिउडाल, सानो उमेर भएकै कारण उनले खेल क्षेत्रमा त्यत्ति रुचि देखाएनन् । साथीहरुले भलिवल खेल्दा कोणबाट उच्छिटिएको भलिबल टिपेर ल्याउने भुमिका बाहेक खेलमा त्यत्ति चासो थिएन आङगेलुको ।
त्रिचन्द्रबाटै राजनितिमा सक्रियता
एस.एल.सि. पास गर्ना साथ उच्च शिक्षा हाँसिल गर्न परिवारले आङगेलुलाई काठमाण्डौ पठाए । उनको रोजाई विज्ञान विषय बन्यो । अनि भर्ना भए त्रि–चन्द्र कलेजमा । २०३६ सालमा नेविसंघको सदस्या लिएका उनले नेविसंघको संगठन विस्तारमा निरन्तर योगदान गरे । फलत – २०४१ सालको स्ववियु निर्वाचनमा नेविसंघले सह–सचिवको टिकट पत्यायो । मिजासिला स्वभावका आङगेलु, भारी मतले स्ववियु सह–सचिवमा निर्वाचित भए । ४१ सालको सफलताले उनलाई आजसम्म त्यसरी नै पच्छ्याईरहेको छ ।
९ महिने जेल जीवन शुशिल र दमनाथसँग
नेपालको लोकतान्त्रिक आन्दोलनमा होमिएका आङगेलु २० बर्षको उमेरमै जेलको चिसो छिडिमा कोचिए । सत्याग्रहको आन्दोलनमा तत्कालिन राज्यब्यवस्थाले २०४२ सालमा शेर्पालाई त्रि–चन्द्रबाटै गिरफ्तार गरेर प्रहरीले सेण्टर जेल लग्यो । ५ महिनाको केन्द्रिय कारागार चलान गरेका उनलाई ४ महिनाका लागि भद्रगोल जेल सारियो । उनी जेलमा पार्टीका सिनियर नेताहरु शुसिल कोईराला, दमननाथ ढुंगाना, प्रदिपगिरी लगायतसँग सँगै बसे । सानो उमेरमै लामो समय जेल जीवन विताउने मध्येका एक हुन –आङगेलु ।
कुशल विज्ञान शिक्षक अनि शिक्षक संघको संस्थापक सचिव
आङगेलुको चिनारी राजनितिमा मात्रै छैन । कुनै कालखण्डमा उनी कुशल शिक्षक भएर अध्यापन कर्ममा पनि सामेल भए । २०४३ सालदेखि २०४७ सालसम्म अध्यापन पेशामा लागेका उनले विज्ञान र गणित विषय धेरैलाई पढाए । अहिलेको जिल्लाको राजनितिमा रहेका आधा दर्जन नेतालाई उनले पढाए । अहिलेका एमालेका जिल्ला अध्यक्ष मानवीर राई कुनै बेला आङगेलुका विद्यार्थी थिए । उनी शिक्षण पेशामै रहेका वेला २०४७ सालमा नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको संस्थापक सचिव समेत भएर शिक्षकहरुको हक हितको क्षेत्रमा काम गरे । त्यही ऐतिहासिक जिम्मेवारीका कारण आज पनि जिल्लाका धेरै शिक्षाक्षेत्रमा छुट्टै सम्बन्ध र ईतिहाँस कायाम छ ।
पुर्णकालिन राजनिति र कान्छो जिल्ला सभापति
शिक्षण पेशा छाडेर २०४७ साल पछि काँग्रेसको पूर्णकालिन कार्यकर्ता रुपमा राजनितिमा होमिए आङगेलु । पुर्ण कालिन राजनितिमा होमिएसँगै गहन अध्ययनका कारण बौद्धिक र बैचारिक नेताको छवि बनाएका उनी २०४८ सालमा काँग्रेसको जिल्ला अधिबेशनबाट जिल्ला सचिवमा निर्वाचित भए । एक कार्यकाल जिल्ला सचिवको रुपमा कुशल कार्यसम्पादन गरेका शेर्पा २०५६ सालमा काँग्रेसको निति निर्माण तहको महत्वपूर्ण पद महासमिति सदस्यमा निर्वाचित भए । लगतै उनी नेपालकै कान्छो पार्टी सभापति समेत बने । ३५ बर्षको उमेरमा निर्वाचित सभापति बनेर नेपाली काँग्रेसमा छुट्टै ईतिहास कायम राखे ।
मध्यावधि चुनावको टिकट अनि लोकजागरण अभियान
तत्कालिन प्रधानमन्त्रि गिरीजाबाबु कोईरालाले २०५९ सालमा घोषणा गरेको मध्यावधि निर्वाचनमा पार्टी सभापति समेत रहेका कोईरालाले सोलुखुम्बुमा चुनाव लड्न शेर्पालाई टिकट समेत दिएका थिए । गिरीजाबाबुको टिकट लिएर चुनाव लड्न जिल्ला नआईपुग्दै चुनाव नहुने घोषणा भयो । मुलुकमा माओबादी जनयुद्धले उग्ररुप लिएको थियो । देशमा संकटकाल लाग्यो । धेरै काँग्रेसी र एमालेका नेता तथा कार्यकर्ताहरु गाउँबाट विस्थापित भए । जिल्लामा दलीय राजनिति हरायो । जनताले माओबादी बाहेकका पार्टी नदेखेको बर्षौ वित्दा २०६१/६२ सालमा आङगेलु शेर्पाले जिल्लाका ३१ वटा गाविसमा लोक जागरण अभियान सञ्चालन गरे । माओबादीको जरजर जनयुद्धको समयमा आफ्नो जीउज्याननै धरापमा राखेर उनको नेतृत्वमा जिल्लामा लोक जागरण अभियन चलेपछि जिल्लाका धेरै नागरिकले राहात र स्वतन्त्रताको स्वास फेर्न पाए । दश बर्षपछि माओबादी बाहेकको दलबाट द्वन्दकालमा चुनावी सभा गरेर हिड्ने उनै एक मात्र नेता बन्न पुगे । आङगेलुले लोकजागरण लिएर गाउँ आयो भन्दा धेरैले पत्याएका थिएनन र पत्याउनेले पनि अब माओबादीले मार्ने भए भनेर दया भाव मात्र राखे । तर उनले निडरताका साथ लोकतन्त्र र नागरिक अधिकारको पक्षमा वकालत गरिरहे । २०६२ सालमा दोश्रो कार्यकालको लागि पुनः नेपाली काँग्रेस सोलुखुम्बुको पार्टी सभापति बने शेर्पा । २०६४ सालको संविधान सभा निर्वाचन पछि नेपाली काँग्रेसको तर्फबाट बनेको संविधान मस्यौदा समितिको सदस्य समेत भएर काँग्रेसको तर्फबाट संविधानको खाका तयार गर्ने महत्वपूर्ण कार्यमा सामेल भए आङगेलु ।
काँग्रेस र काँग्रेस प्रजातान्त्रिकमा विभक्त काँग्रेसको एकता पछि २०६७ सालमा भएको जिल्ला अधिबेशनबाट तेश्रो कार्यकालका लागि पुनः सोलुखुम्बु काँग्रेसको जिल्ला सभापतिमा निर्वाचित भए शेर्पा । जिल्ला सभापति हुँदा पार्टीको संगठन सुदृढिकरण, जिल्लाको विकास निर्माणको काममा नयाँ दृष्टिकोण र परीणाममुखि विकास निर्माणमा जोड दिएका उनले सर्वदलीय पद्धतिबाट जिविस सञ्चालन हुँदा ब्यवशायीक तथा प्राविधि शिक्षाको अवधारणा ल्याएर कार्यान्वयनको प्रकृया समेत शुरु गरे । २०७० सालको संविधान सभा निर्वाचनमा काँग्रेसले समानुपातिक तर्फको उम्मेदवार बनाएको थियो भने २०७४ सालको निर्वाचनमा प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तर्फ टिकट दिएको छ ।
स्वतन्त्र लेखक तथा स्तम्भकारका रुपमा
उनी राजनेता मात्र नभएर एक लोकप्रिय लेखक र स्तम्भकार पनि हुन । २०६४ सालदेखि २०६७ सालसम्म नियमित रुपमा कान्तिपुर र नागरिक राष्ट्रिय दैनिकमा लेखहरु लेखिरहे । राजतन्त्र प्रतिको मोहन नसिद्धिएको तत्कालिन काँग्रेसलाई गणतन्त्रको मार्गमा हिडाउन उनले निरन्तर कलम चलाईरहे भने विभिन्न फोरममा वकालत पनि गरिरहे । गणतन्त्रका पक्षमा काँग्रेस भित्र आवाज उठाउने सिमित ब्यक्ति भित्र पर्छन शेर्पा । उनी स्तम्भकार हुँदा लाखौँ पाठक उनका फ्यान बने र आज पनि छन् । स्तम्भकारसँगै स्पष्टदृष्किोण बोक्ने, प्रष्टबक्ता र बैचारिक छविको पहिचान बनाए उनले ।
पार्टीको प्रतिनिधित्व गर्दै विभिन्न देशको भ्रमण
२०५२ सालमै जापान भ्रमणको मौका पाएका उनलाई विभिन्न देशको राजनैतिक अभ्यासबारे धेरै ज्ञान सँगालेका छन् । ५२ सालमा विश्व अन्तर्राष्ट्रिय युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेका उनले नेपालमा युवाको अवस्थाका बारेमा जापानमा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । २०६८ सालमा भारतमा सम्पन्न विश्व बौद्ध सम्मेलनमा भाग लिएका उनले त्यस बखत पनि नेपालको तर्फबाट स्पष्ट रुपमा विभिन्न एजेण्डाहरु उठाए । पछिल्लो समय २०७३ सालमा चिनिया कम्युनिष्ट पार्टीले गरेको निमन्त्रणामा काँग्रेसको तर्फबाट बेईजिङ गए । १० दिन चिनको बेईजिङमा रहँदा चिनिया उच्च अधिकारीसँग विभिन्न एजेण्डामा वार्ता र छलफलमा सहभागि भए आङगेलु ।
राजनितिशास्त्रमा स्नातक शेर्पा लाभको पदबाट टाढै
राजनितिशास्त्रमा स्नातक उत्तिर्ण गरेका शेर्पा अध्ययनमा खास रुचि राख्छन् । उनले विश्व राजनितिलाई नजिकबाट नियालेका छन् । ३० बर्षको पूर्णकालिन राजनितिमा उनले अहिलेसम्म कुनै लाभको पद लिएका छन् । निष्ठाको राजनिति गरेका शेर्पा अविवाहित समेत रहेका छन् । उनकै पूरै समय पार्टी र समाजलाई नै समर्पित रहेको छ ।
कांग्रेस यूवा नेता आङगेलु शेर्पा सोलुखुम्बुको प्रदेश सभा ‘ख’ का उम्मेद्धार हुन् । उम्मेद्धार शेर्पालाई जितको अग्रिम शुभकामना !