आङगेलुका बुवा भन्छन् – जेठोले चुनाव जिते हुन्थ्यो, राजनितिका नाममा धेरै दुःख पायो, विहे पनि गरेन

७५ बर्षिय बुवाको चिन्ता

संबाददाता,
सोलुखुम्बु/२ मंसिर

‘जेठो के गर्दैछ, जनताको घर दैलोमा कत्तिको गईरहेको छ ? आफ्नो स्वास्थ्यको ख्याल गर्छ की गर्दैन ?’ नेपाली काँग्रेसका लोकप्रिय युवा नेता तथा सोलुखुम्बुका प्रदेश सभाका उम्मेदवार आङगेलु शेर्पाका ७५ बर्षिय बुवा नुर्बुवाङ्डा शेर्पाले उनका अन्तरे छोरालाई (आङगेलुका भाई) टेलिफोनमा सोधे । अनि अन्तरेले आफुले दाजुको सबै ख्याल गरिरहेको जवाफ दिए ।

नगरपालिकाको वडा नम्बर ३ तामाखानी स्थाई घर भएका आङगेलु टिकट पाएको दिन आशिर्वाद लिन बाहेक एक दिन पनि घर जान भ्याएका छैनन् । उनी चुनावी कार्यक्रम र मतदताको घरदैलोमा रातदिन खटिरहेका छन् । तर बुढा बुवालाई भने छोराको चिन्ताले नै सताएको छ । छोराले टिकट पाएको दिनदेखि उनी घरमा जो आउँदा पनि सोध्ने गर्छन, ‘बाबु आङगेलु ले त चुनाव जित्छ नी होईन ?’ अनि घरमा आउने अधिकांशको जवाफ हुन्छ, जित्छ बुवा जित्छ, उसले त धेरै मतको फरकमा जित्छ ।

राजनितिका नाममा जीवनभर आङगेलुले दुःख पाएको नुर्वुवाङडा सम्झन्छन् । ‘२० बर्षकै उमेरमा जेल गयो, धेरै आन्दोलनमा कुटाई खायो, मेरो सबै भन्दा दुःखी जिन्दगी विताउने छोरो त्यही नै हो ।’ ६ वटा छोरा मध्यो आङगेलु जेठा छोरा हुन् । उनका प्राय सबै छोरा विदेशमा शुखी जीवन विताईरहेका छन् । एउटा छोरा क्यानडा, दुई छोरा अमेरिका र बाँकी दुई छोरा काठमाण्डौ रहेका छन् । तर आङगेलु आज सम्म गाउँ पाखाकै जीन्दगी विताईरहेका छन् ।

बेलैमा विहे गरेर घरजम गराईदिने बुवाको सपना अहिलेसम्म पुरा भएको छैन । ५० बर्ष भैसकेको जेठो छोरोले विहे नगरेकोमा पनि उनी चिन्तत छन् । ‘मैले बारम्बार विहे गर्न भने, तलाई एक्लो जीवन जीउन गाह्रो हुन्छ भनेँ तर उसले कहिल्यै मानेन र सधै भन्ने गथ्र्यो म यो समाजका लागि केही गर्छु, देश बनाउन हिडेको हुँ, मेरो घरजम सँग मलाई सरोकार छैन मात्रै भन्छ’ नुर्वु वाङडा भन्छन् । ‘जेठोको न खाने टुंगो छ, न त सुत्ने नै टुंगो’ उनले थपे– सधै राजनिति भन्छ कुद्छ, कत्ति पटक ग्याष्ट्रिक भैसक्यो, भाईहरुले उपचार खर्च दिन्छन ।’

द्वन्दकालमा एक पटक जेठोलाई माया मारिसकेका नुर्वुवाङडा सम्झन्छन्, ‘माओबादीको लडाईका बेला लोकजागरण अभियान लिएर गाउँ जान्छु भन्दा हामीले तलाई माओबादीले मार्छन, अकालमा ज्यान नफाल भन्यौँ तर के मान्थ्यो र ? उल्टै मरे मरिन्छ मेरो ज्यान भन्दा पनि जनताको अधिकारको सवाल छ भन्दै गाउँ पसेको थियो धन्न बाचेर आयो ।’

जीवन राजनिति मै सुम्पेका कारण यो चुनाव आङगेलुले जित्नेमा उनी ढुक्क छन् । काँग्रेसका लोकप्रिय नेताको छवि बनाएका आङगेलु शेर्पाले तीन कार्यकाल काँग्रेस सोलुखुम्बुको जिल्ला सभापति भएर राजनैतिक तथा सामाजिक काम गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार