सोलुखुम्बु । सोलुखुम्बुबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशसिं कार्कीले आफूले चुनाव जितेर सांसद भए पाउने सरकारी सुविधा आफ्नो क्षेत्रका जनतालाई दिने घोषणा गर्नुभएको छ । नेपाली काँग्रेसको चुनावी सभामा बोल्दै उम्मेदवार कार्कीले आफूले सांसद भएर पाउने सबै सेवा सुविधा जनताको शिक्षा र स्वास्थ्यमा खर्चने बताउनुभयो ।
नेपाली काँग्रेसबाट उम्मेदवार बन्नु भएका कार्कीले जिल्लामा उक्त रकमबाट गरिबीले पढ्न नपाएका बालबालिकालाई छात्रावृत्ति उपलब्ध गराउने र पैसाको अभावमा स्वास्थ्य उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाका जनतालाई उपचार खर्च उपलब्ध गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहनु भएका उम्मेदवार कार्कीले भन्नुभयो, ‘अहिलेसम्म आफू सफल व्यवसायी भएर आफ्ना लागि काम गरे , अब सांसद बनेर जनताको सेवा गर्ने सोचका साथ निर्वाचनमा आएको छु’ । उहाँले आफ्नो अहिलेसम्मको अनुभवलाई उपयोग गरेर जिल्लामा सम्भावना भएको क्षेत्रमा उद्योग स्थापना गरी सयौँ यूवालाई विदेशिनबाट रोक्ने आश्वासन दिनुभयो ।
आफूलाई पुग्ने सम्पत्ति आर्जन भइसकेको भन्दै उहाँले जिल्लामा भ्रष्टचार गरी कुनै जनताको बजेटको दुरुपयोग नगर्ने र राजनीतिबाट जनताको सेवामा समर्पण हुने उहाँको भनाइ छ ।
कार्कीको घोषणापछि जनताले एक पटम अवसर दिने बताउन थालेका छन् । नेचा सल्यान १ का कुमार बस्नेतले कार्की जस्ता स्वच्छ छवि भएका इमान्दार नेतालाई एक पटक मौका दिनुपर्ने बताउनुभयो ।