घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले घरदैलोमा स्वास्थ्यकर्मी कार्यक्रमको प्रक्रिया शुरु गरेको छ । नगरक्षेत्रमा रहेका ७० बर्ष माथिका जेष्ठ नागरिक र ‘क’ वर्गका अपाङ्ग नागरिकलाई आधारभूत स्वास्थ्य सेवा घरदैलोमै पु¥याउने उद्देश्यले एक दिने स्वास्थ्यकर्मी सहभागी कार्याशाला गोष्ठि समेत सम्पन गरेर काम थालिएको नगरपालिकाका सूचना अधिकारी योग्यप्रसाद राईले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षको नीति तथा कार्यक्रमको जगमा टेकेर जेष्ठ नागरिक तथा अपाङ्गलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने फरक कार्यक्रमको प्रक्रिया शुरु गरिएको सूचना अधिकारी राईले बताउनुभयो । महिनाको दुई पटक नियमित स्वास्थ्य परीक्षणका लागि जेष्ठ नागरिक र अपाङ्गको घरघरमा स्वास्थ्यकर्मी पठाएर सेवा गरिने उहाँको भनाइ छ ।

घरघरमा पुगेर स्वास्थ्यकर्मीले मधुमेह, रक्त चाप, दम र नियमित परीक्षण तथा फलो अप गर्ने र स्वास्थ्य चौकीबाट उपलब्ध हुने अन्य सेवा निःशुल्क रुपमा प्रदान गर्ने व्यवस्था मिलाइएको सोलुदुधकुण्ड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चमर मगरले बताउनुभयो ।

अहिले आवश्यक स्रोतसाधनको व्यवस्थापन र नगर क्षेत्रमा रहेका ७० बर्ष माथिका जेष्ठ नागरिक र ‘क’ वर्गका अपाङ्ग नागरिकको तथ्याङ्क सङ्कलनको काम शुरु गरिएको र यही पुस महिनाबाट लक्षित व्यक्तिको घरघरमा स्वास्थ्यकर्मीले काम शुरु गर्ने नगरपालिकाले जनाएको छ ।

गत साउनमा नवनिर्वाचित नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पा सहितका पदाधिकारीले नगरपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई घरमै चिकित्सक पु¥याएर नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने गरी भएको निर्णयको कार्यान्वयन गर्न लागिएको हो । वृद्धवृद्धालाई घरमै परीक्षण गरेर उपचार गर्ने र रोग जटिल भएमा अस्पतालसमेत लगेर निःशुल्क उपचारका लागि सहयोग गर्ने जनाइएको छ ।

हाल नगरपालिकाको तथ्याङ्कअनुसार ७० वर्ष पार भएका वृद्धवृद्धाको संख्या ४६९ छ । वृद्धाहरुले हाल उपचार खर्च बापत मासिक रु. एक हजार प्राप्त गर्दै आएका छन् । यससँगै ६० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क उपचार सेवा प्रदान गर्ने विषयमा समेत छलफल भइरहेको नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार