पहिलो पटक स्थानीयस्तरमा प्रअ ब्यबस्थापन तालिम

सोलुखुम्बु । जिल्लामानै पहिलो पटक आधारभूत तहका प्रधानाध्यापकको लागि ब्यबस्थापन तथा नेतृत्व विकास सम्बन्धि दस दिने तालिम सोलुखुम्बुमा सञ्चालन भएको छ । सोलुखुम्बुको शिक्षा विकासमा लामो समयदेखि काम गरिरहेको संस्था ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड) नेपालले शैक्षिक जनशक्ति विकास केन्द्रसँग सहकार्य गरेर यसअघि काभ्रेको धुलिखेलमा मात्र हुने तालिम सोलुखुम्बुमा सञ्चालन गरेको हो ।

सोलुखुम्बुको दुधकुकुण्ड नगरपालिका, दुधकौशिका गाउँपालिका र सोताङ गाउँपालिकाका स्रोत केन्द्रमा तालिम सञ्चालन भएको छ । सोलुदुधकुण्ड नगरपालिकामा लिखुपिके गाउँपालिका सहितका २७ जना, दुधकौशिका गाउँपालिकामा दुधकौशिका र दुधकोशीका २५ जना, सोताङ गाउँपालिकामा महाकुलुङ र सोताङ गाउपालिकाका २२ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको रीड नेपालका शिक्षा विकास अधिकृत केशब गिरीले जानकारी दिनुभयो ।

दुर्गमका विद्यालयका प्रधानाध्यापकको नेतृत्व तथा ब्यबस्थापकीय क्षमता विकास गरी शैशिक सुधारमा टेवा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको रीड नेपालका अध्यक्ष भीम बोगटीले बताउनुभयो । अध्यक्ष बोगटीकाअनुसार तालिम शैशिक जनशक्ति विकास केन्द्रको पाठ्यक्रमअनुसार नै सञ्चालन भएको छ ।

तालिममा परिस्थितीजन्य नेतृत्व, विद्यालय सुधार योजना, सञ्चार सीप, विद्यालयमा बिपद् जोखिम न्यूनीकरण, सकारात्मक दृष्टिकोण, निरन्तर विद्यार्थी मुल्याङ्कन, अनुगमन तथा मुल्याङ्कन शिक्षा सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनियम तथा कार्यक्रमबारे जानकारीलगायतका विषयबस्तु रहेका छन् ।

तालिममा लामो अनुभव भएका प्रधानाध्यापक तथा भर्खरै प्रधानाध्यापकको जिम्मेवारी पाएका सहभागी छन् । भर्खरै प्रअको जिम्मेवारी पाएकी पद्मकन्या आधारभूत विद्यालय बासाकी प्रअ रिखीमाया राईले नयाँ भएकाले काममा अन्योल भइरहेको अवस्थामा यो तालिमबाट आफूमा निकै आत्मविश्वास बढेको बताउनुभयो । तालिमबाट विद्यालयमा फर्केर काम गर्न प्रेरणा प्राप्त भएको उहाँको भनाइ छ ।

त्यस्तै, २३ वर्षदेखि निरन्तर रुपमा प्रअको जिम्मेवारी समाल्दै आउनुभएका रामपुर आधारभूत काँकुका प्रअ केदार खतिवडाले तालिमका विषयवस्तुले नयाँ जोस जागर थपिएको र तुरुन्तै विद्यालयमा लागू गर्न सकिने विषयवस्तु भएको बताउनुभयो । काभ्रेको धुलिखेल गएर लिनुपर्ने तालिम आफ्नै पालिकामा लिन पाउँदा खुसी लागेको प्रधानाध्यापकहरुले बताएका छन् । लामो समय प्रअ चलाएको भए पनि बल्ल ब्यपस्थापकीय भूमिका थाहा भएको बताउँदैै विद्यालयमा धेरै काम गर्न बाँकी रहेको जानकारी भएको र यस तालिमबाट निकै उत्साहित भएको उनीहरु बताउँछन् ।

तालिम एक सय जना आधारभूत तहका प्रअहरुलाई प्रदान गरिएको छ । यता सबै विद्यालयका प्रधानाध्यापकलाई तालिम नदिएपछि असन्तुष्टी देखिएको छ । सोलुदुधकुण्ड नगरपालिकामा रहेको सेर्गा बागम आधारभूत विद्यालयका प्रधानाध्यापक गोपीचरण निरौलाले रीड नेपालले पक्षपातपूर्ण व्यवहार गरेर तालिम दिएको उहाँको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार