सिधा यातायात सुरु भएपछि स्थानीय हर्षित

सन्तोष राउत

सोलुखुम्बु । सोलुखुम्बुको विकट क्षेत्र मानिने साविकका आधा दर्जन गाविस रहको कोशीपारी पहिलो पटक राजधानीदेखि सिधा यातायात सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन् । सोलुखुम्बुको दुधकौशीका गाउँपालिका–८ र सोताङ गाउपालिका–१ को बिचमा रहको हिमालबाट बग्ने दुधकोशी नदीमा हिम पाईप विच्छ्याएर वारिपारि सडक जोडिएसँगै राजधानीदेखि सोताङसम्म सवारी अवागमन सुरु भएको हो ।

सोताङ गाउँपालिकाको पाँच लाख रुपियाँ, स्थानीय प्रकाश कार्कीको करिब सात लाख रुपियाँ र अन्य केही स्थानीयको आर्थिक सहयोगमा उक्त हिम पाईप खरिद गरी अस्थायी रुपमा पुल निर्माण गरेपछि पहिलो पटक सिधा सडक सञ्चालनमा ल्याएकोे सोताङ–५ का वडा अध्यक्ष बिष्णु थापाले जानकारी दिनुभयो ।

दुधकोशीमा पक्की पुल तथा बेलीब्रिज बन्ने चर्चा चलेको भए पनि त्यसका लागि केही वर्ष समय लाग्ने भएपछि स्थानीयको पहलमा सडक जोडिएको हो । सदरमुकामबाट करिब दुई दिनसम्मको पैदल दुरीमा रहेका कोशीपारीका जनताले दुधकोशी नदीमा पुल नबन्दा धेरै सास्ती खेपेको बताउँछन् । हाल हिउँदमा देउसाको रोक्ती तथा कोशीको वारिसम्म यातायातका साधन चल्ने गरेको भएपनि सिधा यात्रा गर्न नपाउँदा समस्या भएको सोताङका जेपी थुलुङले बताउनुभयो ।

सोलुखुम्बुको कर्णाली भनेर चिनिने कोशीपारी अहिले राजधानीदेखि सिधै सोताङहुँदै महाकुलुङसम्म सवारी मार्फत सहज यात्रा गर्न पाउँदा खुसी भएको साताङका एक यात्रु निशा राईले बताउनुभयो । यसअघि उक्त दुधकोशी नदीमा झोलुङगे पुल मार्फत यात्रु पैदल यात्रा र समान आसारपसार गर्ने गरिएको थियो ।

सिधा यातायात चल्ने भए पछि दैनिक प्रयोगका सामाग्रीको भाउ सस्तिने स्थानीयले आशा गरेका छन् । सिधै सामान ढुवानी गर्न थालेपछि बजारभाउ घट्न सक्ने भन्दै सोताङका भला बस्नेतले खुशी व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार