हिमशिखर समाचारदाता
सोलुखुम्बु । ‘सोलुखुम्बु गायन स्टार २’ को उपाधी सोलुखुम्बुको लुक्लाका सनकुमार तामाङले हात पार्नुभएको छ । फ्रेण्डसीप युथ क्लब सोलुखुम्बुले आयोजना गरेको प्रतियोगितामा टप सात जना प्रतिष्पर्धीलाई पछि पार्दै तामाङ सोलुखुम्बु गायन स्टार २ बन्नुभएको हो ।
उपाधीसँगै उहाँले १५० सीसीको पल्सर मोटरसाइकल, नगद १० हजार रुपियाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै, प्रतियोगितामा विनोद राई दोस्रो र भोजकुमार राई तेस्रो भएका छन् । उहाँहरुले क्रमशः नगद रु. ३० हजार र रु.२० हजारका साथमा ट्रफी र प्रमाण पत्र हात पारेका छन् ।
प्रतियोगितामा चौथो स्थान प्राप्त गर्ने डोमा शेर्पा र पाँचौँ हुने खगेन्द्र नाछिरिङलाई नगद १०÷१० हजार रुपियाँ प्रदान गरिएको छ भने छैटौँ र सातौँ हुनेलाई नगद पाँच हजार रुपियाँ प्रदान गरिएको छ । प्रतियोगितामा सातैजनालाई बरिष्ठ पर्यटन व्यवसायी चुङबा शेर्पाले नगद प्रदान गर्नुभएको छ । उहाँले प्रथम, दोस्रो, तेस्रो, हुनेलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार रुपियाँ, चौथो र पाचौंलाई १०/१० हजार रुपियाँ र अन्यलाई पाँच हजार रुपैयाँका दरले पुरस्कार दिनुभएको हो ।
प्रतियोगिताको निर्णायक मण्डलबाट ५० प्रतिशत, भोटबाट ४० प्रतिशत र आयोजकको १० प्रतिशत गरी जम्मा १०० प्रतिशतमा मूल्यांकन गरिएको थियो । शुरुमा १२५ जनाको सहभागिता रहेको सोलुखुम्बु गायन स्टार २ मा सात चरणमा प्रतिष्पर्धीलाई छनोट गरिएको प्रतियोगिताका संयोजक नाम्गेल शेर्पाले जानकारी दिनुभयो । जिल्लामा रहेका विभिन्न प्रतिभालाई अगाडी बढाउने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।