सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–३ मा रहेको ज्वालामाई आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । हाल स्विटजरल्याण्ड बस्दै आउनुभएका स्थानीय युवा पुला शेर्पाले आफ्नो प्रयासमा लगानीमा एक सेट कपडाका लागि ४५ हजार रुपियाँ रकम उपलब्ध गराउनुभएको विद्यालयका प्रधानाध्यापक भोजकुमार अधिकारीले जानकारी दिनुभयो ।
कतिपय विद्यार्थीहरु कमजोर आर्थिक अवस्थाका समेत भएकाले पोशाक उपलब्ध गराउँदा अभिभावकलाई धेरै राहत मिलेको प्रधानाध्यापक अधिकारीले बताउनुभयो । एकै किसिमको पोशाकको व्यवस्था भएसँगै धनी गरिब सबै विद्यार्थीलाई एकै किसिमका देखिने उहाँले बताउनुभयो । कक्षा पाँचसम्म पढाई हुने त्यस विद्यालयका ३२ जना विद्यार्थीलाई पोशाकको व्यवस्था गरिएको हो ।
शेर्पाले भविष्यका कर्णाधार विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो । पोशाकका साथमा उहाँले विभिन्न शैक्षिक सामग्रीको लागि ५ हजार रुपियाँ समेत उपलब्ध गराएको बताउनुभयो ।
आफ्ना बच्चाले निःशुल्क पोशाक पाएपछि अभिभावक माया शेर्पाले खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, आफैँले विद्यालयको पोशाक किन्न नसकेका बेला सहयोग पाएपछि सजिलो भयो, सहयोग गर्नेलाई धन्यबाद छ ।