सोलुमा १० उम्मेदवारले बुझाए चुनावी खर्च विवरण, कसले कति गरे खर्च ??

सोलुखुम्बु । भर्खरै मङ्सिर १० गते सम्पन्न प्रतिनिधि तथा प्रदेस सभा निर्वाचनमा सोलुखुम्बुबाट उम्मेदवार बनेका १० जना उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण पेश गरेका छन् । चुनावबाट निर्वाचित भएका तीनजना सांसद सहित १० जना उम्मेदवारले चुनावी खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी जगननाथ दाहालले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमाभित्र रहेर सोलुखुम्बुका उम्मेदवारले खर्च गरेको विवरण पेश भएको छ । आयोगले निर्धारण गरेअनुसार प्रतिनिधिसभाका उम्मेदवारलाई अधिकतम २५ लाख रुपियाँ र प्रदेशसभाका उम्मेदवारलाई अधिकतम १५ लाख रुपियाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो ।

जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुमा पेश गरेको खर्च विवरणअनुसार बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमकुमार राई सुरवीरले २४ लाख ८८ हजार रुपियाँ खर्च गरेको विवरण पेश भएको छ । बाम गठबन्धनबाटै प्रदेशसभा क मा उम्मेदवार बन्नुभएका नेकपा एमालेका उत्तमकुमार बस्नेतले १४ लाख ९१ हजार आठ सय रुपियाँ खर्च भएको विवरण पेश गर्नुभएको छ भने प्रदेशसभा ख बाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका बुद्धिकुमार राजभण्डारीले १४ लाख ९७ हजारको खर्च विवरण पेश गर्नुभएको छ ।

त्यस्तै, नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार बलबहादुर केसीले २३ लाख ९३ हजार रुपियाँ रकम खर्च भएको विवरण पेश गर्नुभएको छ भने मंगोल नेश्नल अर्गनाइजेसनबाट प्रतिनिधि सभामा उम्मेदवार बन्नुभएका रुद्रबहादुर रानामगरले एक लाख ३२ हजार रुपियाँ, राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बन्नुभएका रामकाजी राईले एक लाख ५७ हजार रुपियाँ रकमको खर्च विवरण जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुमा बुझाउनुभएको छ ।

संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार लाक्पा शेर्पाले २१ लाख १३ हजार रुपियाँ, प्रदेशसभा क का उम्मेदवार चोलामाया बस्नेतले १० लाख ७१ हजार आठ सय रुपियाँ, प्रदेशसभा ख का उम्मेदवार गंगाबहादुर थापामगरले ११ लाख ६९ हजार रुपियाँ र प्रदेशसभा क का स्वतन्त्र उम्मेदवार लोचनकुमार शर्माले चार लाख ५२ हजार रुपियाँ खर्च विवरण बुझाउनुभएको छ ।

सोलुखुम्बुमा प्रतिनिधिसभा तथा प्रदेशसभामा गरी १८ जना उम्मेदवारले चुनावमा भाग लिएको भएपनि निर्वाचन आयोगले तोकेको समयभित्र खर्चको विवरण पेश भएको छैन । चुनावको परिणाम सार्वजनिक भएको समयले ३५ दिन भित्र खर्च विवरण बुझाइसक्नुपर्ने नियम रहेको निर्वाचन आयोगले जनाएको छ । अझै आठ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार