सन्तोष राउत/सोलुखुम्बु ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ को नेलेमा जिल्लामै पहिलो पटक किबी प्रशोधन केन्द्र बन्ने भएको छ । करिब एक करोड ५० लाख रुपियाँको लागतमा बन्न लागेको कन्द्रमा कृषि विकास मन्त्रालय मार्फत बागवानी केन्द्र फाप्लुको ५० प्रतिशत अनुदान सहयोगमा एनप्याक प्राइभेट लिमिटेडले किबी र भुईँ स्याउ प्रशोधन केन्द्र बनाउने सम्झौता भएको वरिष्ठ बागवानी अधिकृत चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो समय किबी फलको व्यवसायिक खेतीतर्फ कृषकको आकर्षण बढ्न थालेपछि प्रशोधन केन्द्र स्थापना गर्न लागिएको हो । किबीका साथमा भुँई स्याउको प्रशोधन केन्द्र समेत रहने छ । जिल्लाको सबै क्षेत्रको करिब केन्द्रमा पर्ने नेले उपयुक्त स्थान भएकाले त्यहाँ बनाउन लागिएको बताइएको छ ।
बागवानी केन्द्रको ७५ लाख बजेटबाट संस्थाले गरेको कामअनुसारको भुक्तानी गरिने र चालु आर्थिक वर्ष २०७४/०७५ भित्र प्रशोधन केन्द्र स्थापना गरिसक्नुपर्ने छ । प्रशोधन केन्द्रमा बजारमा बिक्री हुन नसकेका विभिन्न फलफूल प्रशोधन गरेर जुस, जामलगायत सामग्री तयार गरिने लक्ष्य राखिएको अधिकृत श्रेष्ठले बताउनुभयो ।
सोलुखुम्बुमा आर्थिक बर्ष २०६९/७० देखि जिल्ला कृषि विकास कार्यालयले एक सय किबीको विरुवा ल्याई कृषकहरुलाई दिएर किबी रोप्न शुरु गरिएको भएपनि सोलुखुम्बुमा २०७०/७१ मा एक हजार आठ सय, २०७१/७२ मा छ हजार, २०७२÷७३ मा तीन हजार नौ सय गरी हालसम्म ११ हजार सात सय बिरुवा रोपिएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ ।
हालसम्म आउँदा जिल्लामा करिब ५० हेक्टर जमिनमा १५ हजार विरुवा रोपिएपनि अहिले ४४ हेक्टरमा मात्रै किबी खेती रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा १५ प्रतिशत क्षेत्रका किबीले उत्पादन दिन शुरु गरिसकेको छ । कृषि कार्यालयकाअनुसार उत्पादन लिन शुरु गरेका कृषकहरु किबी फलको व्यवसायीक खेतीमा हौसिएका छन् । फाटफुट खेती गर्ने धेरै भएपनि सोलुदुधकुण्ड नगरपालिका, नेले, काँगेल, सल्यान, टाक्सिन्दु, भकान्जे, काँकुलगायतका क्षेत्रमा व्यवसायिक किबी खेती गरिएको छ ।
जिल्लामा मुन्टी जातको किबी बढी रोपिएको छ । स्थानीय बजारमा समेत विक्रि हुने र कोशेलीको रुपमा पनि किबी फल लैजाने भएकाले व्यवसायीक कृषकहरु आशावादी देखिएका छन् । कृषकहरुले उत्पादन गरेका किबीमध्ये गुणस्तरीय किबी निर्यात गर्ने र कम गुणस्तरीय किबीलाई प्रशोधन गरी रक्सी, ब्राण्डी, वाइन, जेली, वियर, जुस, जाम आदि बनाउन सकिने भएकाले प्रशोधन केन्द्र स्थापनामा जोड दिइएको हो ।
फलको राजा मानिने किबीलाई यार्सागुम्बा र ग्यानोडार्मा च्याउ जतिकै औषधीय गुणयुक्त शक्तिबद्र्धक र क्यान्सरको औषधी मानिन्छ । किबीको व्यवसायिक खेतीका लागि समुद्र सतहबाट एक हजारदेखि दुई हजार मिटरसम्मको हावापानी उपयुक्त हुन्छ । तर उचित सिंचाइ र स्याहार पुगे समुद्री सतहबाट आठ सयदेखि २९ सय मिटरसम्म यसको खेती गर्न सकिन्छ ।