अज्ञात रोगका कारण सोलुखुम्बुमा चार सय विद्यार्थी बिरामी, स्वाइन फ्लूको आशङ्का


सोलुखुम्बु । सोलुखुम्बुको विकट क्षेत्रमा पर्ने महाकुलुङ गाउँपालिका–२ मा रहेको पेल्माङ आधारभतू विद्यालयमा अध्ययनरत सबै विद्यार्थीमा अज्ञात रोगका कारण करिब चार सय विद्यार्थी बिरामी भएका छन् । विद्यार्थीमा एक्कासी ज्वरो आउने, टाउको दुख्ने, बान्ता हने, आँखा रातो हुने, आँसु आइरहने, खोकी लाग्ने जस्ता समस्या देखिएपछि चिकित्सकले विद्यार्थीमा स्वाइन फ्लूको आशङ्का गरेको विद्यालयका प्रधानाध्यापक टङ्क दाहालले जानकारी दिनुभयो ।
प्रअ दाहालकाअनुसार छ जना विद्यार्थीको अवस्था चिन्ताजनक रहेकोमा दुई जनालाई अलि ठिक भएको छ । छ दिनअघिबाट केही विद्यार्थीमा देखिएको रोग सबैमा फैलिएपछि त्रास बढेको छ । बरामीको संख्या थपिदै गएपछि अभिभावकहरु भने चिन्तामा छन् । जटिल समस्या देखिएपछि मङ्गलबार विद्यालय व्यवस्थापन समितिको वैठकले माघ ६ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक दाहालले जानकारी दिनुभयो । विद्यालयमा ४१८ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र सोताङका चिकित्सक सङडु शेर्पा सहित प्राथमिक स्वास्थ्य केन्द्र सोताङ र बुङ स्वास्थ्य चौकीबाट आठ जनाको टोली उपचारमा संलग्न रहेको छ । ल्याब परीक्षणपछि मात्रै रोग पत्ता लाग्ने उपचारमा खटिएका डाक्टर सङडु शेर्पाले बताउनुभयो । विद्यार्थीहरुमा स्वाइन फ्लूको लक्षण देखिएकाले विद्यालयको प्राङगणमा स्वास्थ्य जाँच गरी औषधि वितरणमा खटिरहेको उहाँले बताउनुभयो ।
स्वाईन फ्लुको आशङ्का लागेकोले परीक्षणको लागि समान लिएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको एक टोली काठमाडौंबाट सोलुखुम्बु आउने भएको छ । हाल बिरामी विद्यार्थीहरुलाई भने लक्षणअनुसारको उपचार गरी औषधि दिइएको चिकित्सकहरु बताउँछन् ।
डाक्टर शेर्पाले एकै पटक धेरैलाई सक्रमण भएकाले त्रास उत्पन्न भएपनि अभिभावकलाई नआत्तिन आग्रह गर्नुभयो । उहाँले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जिल्ला स्वास्थ्य कार्यालय मार्फत जानकारी गराइएको भन्दै विहीबारसम्म स्वास्थ्यकर्मीको टोली आएर स्याम्पल कलेक्सन गर्न सक्ने बताउनुभयो ।
तत्कालका लागि अभिभावकले कुनै पनि त्यस्तो लक्षण चिन्ह देखिएको अस्पताल गई हाल्न सुझाव दिनुभयो । राई बस्तीमा सुगुर पालन व्यवसाय सञ्चालन गरिएकाले त्यस्ता घरपालुवा जनावरबाट बालवालिकालाई टाढा राख्न, सङ्क्रमितबाट अर्को स्वस्थ व्यक्तिमा भाइरल सर्न नदिनका लागि खोक्दा मुख छोपेर खोक्न, सरसफाईमा ध्यान दिन, तातो झोलिलो खानेकुरा बढी खान सुझाव दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार