सोलुखुम्बुमा देखिएको अज्ञात रोग नियन्त्रणतर्फ

सन्तोष राउत/सोलुखुम्बु

सोलुखुम्बुको सदरमुकामबाट करिब दुई दिनको पैदल दुरीमा रहेको महाकुलुङ गाउँपालिका–२ मा रहेको पेल्माङ आधारभतू विद्यालयमा अध्ययनरत विद्यार्थीमा अज्ञात रोग नियन्त्रणतर्फ गएको छ । नियमित रुपमा चिकित्सकहरुको टोलीले उपचार गरेपछि अहिले कम हुँदै गएको बताइएको छ ।

अहिलसम्म ४७६ जनाको विद्यालयमा बसेर लगातार उपचार गरिएको छ । रोग पहिचानका लागि जिल्लाबाट गएको ल्याब टेक्निसियनको टोलीले बिरामीको नुमना संकलन गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थअसिस्टेन्ट कुमार केसीले जानकारी दिनुभयो । आइतबार रिपोर्ट आएपछि रोगको पहचिान हुने उहाँको भनाइ छ ।

करिब चार सय विद्यार्थी बिरामी भएकोमा अहिले एक सय भन्दा बढी अभिभावकमा सरेको विद्यालयका प्रधानाध्यापक टङ्क दाहालले जानकारी दिनुभयो । विद्यार्थीमा एक्कासी ज्वरो आउने, टाउको दुख्ने, बान्ता हने, आँखा रातो हुने, आँसु आइरहने, खोकी लाग्ने जस्ता समस्या देखिएपछि चिकित्सकले स्वाइन फ्लूको आशङ्का गरिएको छ । बिरामी भएका मध्ये बढी सिकिस्त विद्यार्थीलाई निगरानीमा राखेर सघन उपचार भइरहेको उहाँले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र सोताङका चिकित्सक सङडु शेर्पा सहित उपचारमा संलग्न टोलीले विद्यालयमा नै बसेर उपचार गरिरहेको छ । विद्यार्थीहरुमा स्वाइन फ्लूको लक्षण देखिएकाले विद्यालयको प्राङगणमा स्वास्थ्य जाँच गरी औषधि वितरणमा खटिरहेको डाक्टर शेर्पाले बताउनुभयो ।

सात दिनअघिबाट केही विद्यार्थीमा देखिएको रोग सबैमा फैलिएपछि त्रास बढेको थियो । जटिल समस्या देखिएपछि मङ्गलबार विद्यालय व्यवस्थापन समितिको वैठकले आइतबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक दाहालले जानकारी दिनुभयो । विद्यालयमा ४१८ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

डाक्टर शेर्पाले एकै पटक धेरैलाई सक्रमण भएकाले त्रास उत्पन्न भएपनि अभिभावकलाई नआत्तिन आग्रह गर्नुभयो । राई बस्तीमा सुगुर पालन व्यवसाय सञ्चालन गरिएकाले त्यस्ता घरपालुवा जनावरबाट बालवालिकालाई टाढा राख्न, सङ्क्रमितबाट अर्को स्वस्थ व्यक्तिमा भाइरल सर्न नदिनका लागि खोक्दा मुख छोपेर खोक्न, सरसफाईमा ध्यान दिन, तातो झोलिलो खानेकुरा बढी खान सुझाव दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार