राष्ट्रियसभाका लागि मतदाता नामावली प्रकाशित

काठमाडौंँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार सातै प्रदेशमा मतदाताको नामावली (निर्वाचक मण्डल) प्रकाशित गरिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ जना तथा सात प्रदेशबाट निर्वाचित ५५० प्रदेशसभा सदस्य गरी दुई हजार ५६ जना मतदाताले मताधिकार प्रयोग गर्ने छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय निकायका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य गरी दुई प्रकारका मतदाता भए पनि दुवैको मतभार भने फरक फरक छ । स्थानीय तहका प्रमुख र उपप्रमुख एक जनाको मत १८ मत बराबर गणना हुन्छ भने प्रदेशसभा सदस्यमध्ये एक जनाको मत ४८ मत बराबर गणना हुनेछ ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष छन् भने प्रदेशसभामा ३६१ पुरुष र १८९ जना महिला मतदाता छन् । आयोगले आइतबार बिहान साढे एघार बजे मतदाता नामावली प्रकाशन गर्ने गरी संशोधित निर्वाचन कार्यतालिका प्रकाशित गरेकोमा सातै प्रदेशमा प्रदेशसभा सदस्यको शपथग्रहण कार्यक्रम समेत रहेकाले केही प्रदेशमा केही समय ढिला मात्रै मतदाता नामावली प्रकाशन भएको थियो । प्रदेश १ को मोरङको विराटनगर, प्रदेश २ को धनुषाको जनकपुरधाम, प्रदेश ३ को ललितपुरको पाटन, प्रदेश ४ को कास्कीको पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिएको छ ।

राष्ट्रियसभाका लागि माघ १० गते उम्मेदवारी दर्ता र माघ १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । प्रकाशित नामावलीअनुसार, प्रदेश १ मा समानुपातिकतर्फबाट नेपाली काँग्रेसबाट निर्वाचित झापाका ओमप्रकाश सरावगी सबैभन्दा ज्येष्ठ मतदाता हुनुहुन्छ । नागरिकताअनुसार उहाँको जन्म २००० साल चैत ३० गते भएको हो । gorkhapatraonline.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार