सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण, कसले कति गरे खर्च ??

सन्तोष राउत/सोलुखुम्बु । भर्खरै मङ्सिर १० गते सम्पन्न प्रतिनिधि तथा प्रदेस सभा निर्वाचनमा सोलुखुम्बुबाट उम्मेदवार बनेका सबै उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण पेश गरेका छन् । निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमाभित्र रहेर सोलुखुम्बुका उम्मेदवारले खर्च गरेको विवरण पेश भएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी जगननाथ दाहालले जानकारी दिनुभयो ।

आयोगले निर्धारण गरेअनुसार प्रतिनिधिसभाका उम्मेदवारलाई अधिकतम २५ लाख रुपियाँ र प्रदेशसभाका उम्मेदवारलाई अधिकतम १५ लाख रुपियाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुमा पेश गरेको खर्च विवरणअनुसार बाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमकुमार राईले २४ लाख ८८ हजार रुपियाँ, प्रदेशसभा क का उम्मेदवार नेकपा एमालेका उत्तमकुमार बस्नेतले १४ लाख ९१ हजार आठ सय रुपियाँ र प्रदेशसभा ख का उम्मेदवार नेकपा एमालेका बुद्धिकुमार राजभण्डारीले १४ लाख ९७ हजारको खर्च विवरण पेश गर्नुभएको छ ।

त्यस्तै, नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार बलबहादुर केसीले २३ लाख ९३ हजार रुपियाँ, प्रदेस क का प्रकाशसिं कार्कीले १३ लाख १८ हजार रुपियाँ, प्रदेस सभा ख का आङगेलु शेर्पाले १२ लाख ९८ हजार पाँच सय रुपियाँ खर्च भएको विवरण पेश गर्नुभएको छ ।

संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार लाक्पा शेर्पाले २१ लाख १३ हजार रुपियाँ, प्रदेशसभा क का उम्मेदवार चोलामाया बस्नेतले १० लाख ७१ हजार आठ सय रुपियाँ, प्रदेशसभा ख का उम्मेदवार गंगाबहादुर थापामगरले ११ लाख ६९ हजार रुपियाँ खर्च विवरण बुझाउनुभएको छ ।

नयाँ शक्ति नेपालका प्रतिनिधि सभाका उम्मेदवार सुनिल खडकाले ११ लाख १० हजार रुपियाँ, प्रदेस क का दिपक खड्काले पाँच लाख पाँच हजार आठ सय, प्रदेस ख का मुनिन्द्र बस्नेत पाँच लाख ६५ हजार रुपियाँ खर्च गर्नुभएको छ । मंगोल नेश्नल अर्गनाइजेसनबाट प्रतिनिधि सभामा उम्मेदवार रुद्रबहादुर रानामगरले एक लाख ३२ हजार रुपियाँ खखर्च गर्नुभएको छ ।

राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बन्नुभएका रामकाजी राईले एक लाख ५७ हजार रुपियाँ, प्रदेस क का श्रीध्वज तामाङले एक लाख ४१ हजार रुपियाँ, प्रदेस ख का प्रेमकुमारी राईले एक लाख २७ हजार पाँच सय रुपियाँ रकमको खर्च विवरण बुझाउनुभएको छ ।

नेमकिपाबाट प्रतिनिधि सभा उम्मेदवार बन्नुभएका दोर्जी शेर्पाले ४७ हजार रुपियाँ, प्रदेशसभा क का स्वतन्त्र उम्मेदवार लोचनकुमार शर्माले चार लाख ५२ हजार रुपियाँ खर्च गरेको विवरण छ ।
सोलुखुम्बुमा प्रतिनिधिसभा तथा प्रदेशसभामा गरी १८ जना उम्मेदवारले चुनावमा भाग लिएका थिए । चुनावको परिणाम सार्वजनिक भएको समयले ३५ दिन भित्र खर्च विवरण बुझाइसक्नुपर्ने नियम रहेको निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार