सोलुमा अब १४ जना घाइतेले मासिक भत्ता पाउने

सोलुखुम्बु । सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका सोलुखुम्बुका १४ जनाले मासिक भत्ता पाउने भएका छन् । सशस्त्र द्वन्द्वका क्रममा घाइते भई शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको सूचिमा सूचिकृत भएका घाइतेहरुबाट प्राप्त निवेदनअनुसार प्रतिशत कायम गरी भत्ता दिने निर्णय भएको हो ।

घाइतेहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन सिफारिस समिति सोलुखुम्बुले घाइतेको अवस्थाका आधारमा प्रतिशत कायम गरी प्राविधिक समितिमा पठाएपछि मासिक भत्ता पाउने निश्चित भएको थानीय शान्ति समिति सोलुखुम्बुका सचिब बाबुराम आचार्यले जानकारी दिनुभयो । यस पटक चार जनालाई मासिक भत्ता दिने गरी प्रतिशत कायम गरिएको छ ।

जिल्लमा ४९ जना घाइते रहेकोमा १४ जनाले प्रतिशतका आधारमा मासिक भत्ता पाउने र अन्यले एकमुष्ट रकम पाउने उहाँले बताउनुभयो । उहाँकाअनुसार पाँच प्रतिशतदेखि ५० प्रतिशत अपाङ्गता कायम भएका घाइतेलाई एकमुष्ट रकम प्रदान गर्ने र ५१ प्रतिशत भन्दा माथि ८० प्रतिशत कायम भएकालाई मासिक छ हजार दुई सय रुपियाँ र ८१ प्रतिशत भन्दा माथि कायम भएकालाई १० हजार रुपियाँ प्रदान गर्ने प्रावधान रहेको छ ।

घाइते भएर शरिरका अङ्ग गुमाएकाहरुको दैनिकी पनि कष्टकर रुपमा बितिरहेका बेला मासिक भत्ता दिने निर्णयले घाइतेहरु खुशी भएका छन् । विगत १५ वर्षदेखि ह्विल चियरको भरमा जिवन बिताइरहनुभएका सोलुखुम्बुको साबिक तिङ्ला गाविस–६ का ताराबहादुर बस्नेतले मासिक भत्ता पाउने भएपछि खुशी भएको बताउनुभयो । हालसम्म धेरै समस्यामा रहेको भएपनि अब मासिक भत्ताले केही सहज हुने उहाँको भनाइ छ । नियमित आयस्रोत नभएकाले जीवन धान्न धौ धौ भएको घाइतेहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार