सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु विमानस्थलमा दुईददिनदेखि हवाई उडान नहुँदा यात्रु अलपत्र परेका छन् । लगातार चलेको हावाहुरीका कारण सोमबारदेखि कुनैपनि उडान नभएको नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख अमितकुमार चौरासियालेले जानकारी दिनुभयो ।
सोमबार तारा एयलाईन्सको एक उडान हावाका कारण रद्द भएको छ भने मङ्गलबार तारा, समिट र नेपाल एयरलाइन्सको एक÷एक वटा उडान रद्द भएको प्रमुख चौरासियाले बताउनुभयो । उडान रद्द भएपछि अलपत्र बनेका यात्रुहरु कोही सडक यातायातको प्रयोग गरी गन्तव्यतिर लागेको छन् भने कोही उडानको पर्खाई बसेका छन् । फाप्लुमा उडान रद्द भएपछि जीपबाट राजधानी लागेको यात्रु विनोद बस्नेतले बताउनुभयो ।
त्यस्तै, पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा पनि हावाका कारण उडान प्रभावित भएको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख योगेन्द्र कुँवरले जानकारी दिनुभयो । हावाले बाटोमा जहाजलाई हल्लाउने समस्या भएपछि लुक्लामा मङ्गलबार सीता, समिट र तारा एयरलाईन्सका गरी १२ उडान तय भएकोमा चार वटा उडान मात्र भएको उहाँले बताउनुभयो ।
हवाई सेवा प्रभावित हुँदा पर्यटक तथा आन्तरिक यात्रुहरु अलपत्र परेका छन् । पर्यटकीय सिजन नभएपनि लुक्लाबाट फर्कन लागेका फाटफुट आउने गरेका पर्यटक र तीनका सहयोगीहरु समस्यामा परेका छन् । आफ्नो भ्रमण सकाएर काठमाडौँ जान पर्यटकहरु जहाज कुरिरहेका छन् ।