सोलुखुम्बु । भूकम्प गएको करिब ३२ महिनसम्म पनि भूकम्प प्रभावितको लाभग्राहीको सूचीमा परेका सोलुखुम्बुका एक हजार ४४५ भुकम्प पीडितले पहिलो किस्ता बापतको ५० हजार रकम पाउन सकेका छैनन् । निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ता बापतको अनुदान रकम गएको भदौको शुरुबाट वितरण शुरु गरिएको भएपनि अहिलेसम्म सबैले अनुदान पाएका छैनन् ।
प्राविधिक सर्भेपछि लाभग्राहीको सूचीमा परेका जिल्लाका १२ हजार ४३५ घरधुरीमध्ये वडामा सम्झौता गरेका १० हजार १५४ जना लाभग्राहीलाई अनुदान बितरण गरिएको जिल्ला समन्वय समितिका भूकम्प सम्पर्क व्यक्ति भोजनारायण राजभण्डारीले जानकारी दिनुभयो । वडामा सम्झौता भएर पनि विभिन्न प्रक्रिया नपुगेका कारण सबैले अनुदान पाउन नसकेको उहाँको भनाइ छ ।
सबै प्रक्रिया पुगेर पनि बैङ्कमा आएका लाभग्राहीलाई समयमा बैङ्कहरुले रकम उपलब्ध गराउन सकेका छैनन् । कोलेनिकाबाट रकम निकासा भएपनि कतिपय सबिकका गाविसले बैङ्कको ढिलासुस्तीले महिनौँसम्म रकम पाएका छैनन् । जिल्लामा भएका दुई वटा सरकारी बैङ्कबाट रकम भुक्तानी भइरहेको छ । राष्ट्रिय बाणिज्य बैङ्क र कृषि विकास बैङ्कका सल्लेरी शाखाबाट खाता खोलेर रकम वितरण हुन थालेको हो ।
कृषि बिकास बैङ्कबाट भदौ १ गतेबाट पीडितलाई अनुदान वितरण गरिरहेको कृषि विकास बैङ्कका प्रमुख मन्दिप कोइरालाले जानकारी दिनुभयो । उहाँकाअनुसार रकम भुक्तानीका लागि केवाईसी फारम, भुक्तानी फारम, अनुदान सम्झौता पत्र र भूकम्पपीडित परिचय पत्र सहित उपस्थित हुनपर्ने छ ।
कृषि विकास बैङ्कबाट साबिकका आठ वटा गाविसका एक हजार ९८१ जना लाभग्राहीले अनुदान रकम पाउनेभएका हुन् । राष्ट्रिय बाणिज्य बैङ्कबाट १७ गाविसमध्ये १२ गाविसका तीन हजार २६२ लाभग्राहीलाई अनुदान वितरण भएको राष्ट्रिय बाणिज्य बैङ्कका प्रबन्धक श्यामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।