सन्तोष राउत/सोलुखुम्बु । युवा गीतकार सागर खालिङ राईको नयाँ आधुनिक गीतको म्यूजिक भिडियो बजारमा आएको छ । उहाँले ‘तिम्रो माया कुन्नि कस्तो….’ बोलको गीतको म्यूजिक भिडियो हालै बजारमा ल्याएको जानकारी दिनुभयो ।
सागरको शब्द तथा युवा गायक प्रकाश खालिङ राईको स्वर रहेको उक्त गीतमा अहिलेका व्यस्त सङ्गितकार दिपकराज बिकले सङ्गीत गर्नुभएको छ । म्यूजिक भिडियो गायक प्रकाशको आफ्नै निर्देशनमा निर्माण भएको हो । दिपसुङ आरसि, आयुष्मा राना, प्रतिक्षा, सन्तोषले अभिनय गरेको उक्त म्यूजिक भिडियोमा क्यामेरा र एडिट भने शिसिर पोखरेलले गर्नुभएको छ ।
सागर खालिङद्वारा लेखिएको यो पहिलो गीत हो । यसमा प्रेमीकाले धोका दिएर गएको भावना समेटिएको गीतकार सागरले बताउनुभयो । सोलुखुम्बुको काकुमा–८, देप्कुमा जन्मेर पथप्रदर्शकका रुपमा पर्यटन व्यवसाय गर्दै आउनुभएका मिठो स्वरका धनी गायक प्रकाश राईले सङ्गीतमा भविष्य खोज्दै दर्जनौँ गीत बजारमा ल्याउनु भएको छ । लोक, पप, पुर्वेली र आधुनिक सबै खालका गाउने राईले सानै उमेरमा आमा बुबा गुमाए पनि सङ्गीतलाई नै आमा बुबा सरह मानेर सानै उमेरमा पर्यटन भरियाका रुपमा सङ्घर्ष गर्दै आउनुभएको हो ।