सोलुखुम्बु । मृगौला पीडित गायिका जलजला परियारलाई सोलुखुम्बुका दलित युवाहरुले आर्थिक सहयोग गरेका छन् । दुबै मिर्गौला फेल भएर उपचार गराइरहेकी परियारलाई प्रथम दलित सगरमाथा आरोही विजय घिमिरे प्रतिष्ठान र लौरश्वर दलित युवा समाज तिङला सोलुखुम्बुकोे संयुक्त पहलमा सोलुखुम्बुमा सङ्कलन गरिएको ५३ हजार २५० रुपियाँ रकम हस्तान्तरण गरिएको छ ।
राजधानीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेकी परियारलाई उपचारमा थप मद्दत पुगोस् भनेर पीडितका बुबा नारायणबहादुर दर्जीलाई रकम हस्तान्तरण गरिएको दलित समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने विजय घिमिरे विश्वकर्मा र लौरश्वर दलित युवा समाज सोलुखुम्बुका अध्यक्ष नीरकुमार नेपालीले बताउनुभयो ।
उहाँको उपचारमा करिब २५ लाख रुपियाँ लाग्ने भएकाले सहयोग जुटाउने पहल भइरहेको हो । सानो सहयोगले एउटा कलाकारको ज्यान बचाउन सकिन्छ भनेर रकम सङ्कलन गरी पठाइएको उहाँहरुको भनाइ छ ।
अर्घाखाँची ढाकावाङ–८ निवासी २१ वर्षिया परियार नेपाली तारा सिजन–३ को उत्कृष्ट ४ सम्म पुग्नुभएको थियो । उहाँ रेडियो नेपालद्वारा आयोजित देशव्यापी गायन प्रतियोगितामा दोस्रो हुनुभएको थियो । उहाँ केही दिनअघि मात्रै भीममाया स्मृति पुरस्कारबाट सम्मानित हुनुभएको छ ।