सोलुखुम्बु । विभिन्न ग्रामिण भेगमा कच्ची सडक पुगेको वषौँ हुँदासम्म पनि सडक पहुँचबाट बञ्चित रहेको सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ मा पर्ने रुङ्गामा जनताले जबरजस्ती सडकको ट्रयाक खोलेका छन् । जनप्रतिनिधिले यस पटक सकड खन्न अस्विकार गर्दा समेत स्थानीयले डोजर कब्जामा लिएर सडक खनेरै छोडेका छन् ।
अघिल्लो वर्ष ट्रयाक खोलिएको छेउको सडक स्तरोन्नती गर्न ल्याएको गाउँपालिकाले ठेक्कामा लिएको डोजरलाई स्थानीय यूवा प्रदिप बस्नेतको अगुवाईमा गाउँमा ल्याएर सडक खन्न थालेपछि गाउँपालिका प्रमुख डुफकुमार बाँस्तोला र वडा अध्यक्ष रमेश राईले अहिले कुनै पनि हालतमा बाटो खन्न नमिल्ने र पछि कुनै समयमा खन्ने बताएपछि आक्रोशित भएका स्थानीयले दुईदिनसम्म डोजर फर्कन नदिई रोकेर राखेका थिए ।
बाटो खन्नका लागि गाउँपालिकाले नदिने तर स्थानीय भने दृढ देखिएपछि नव निर्वाचित प्रतिनिधि सभाका सदस्य हेमकुमार राईले गाउँपालिकाले बजेटको व्यवस्था नगरे सांसद क्षेत्र विकास कोषबाट रकमको व्यवस्था गर्ने आश्वासन दिएपछि स्थानीय यूवा शिव बस्नेतको नेतृत्वमा सडक निर्माण कार्य अघि बढेको हो । अहिलेसम्म सडकको पहुँचबाट टाढा रहेको हाम्रो गाउँलाई जनप्रतिनिधिले समेत चरम वेवास्ता गर्दा जबरजस्ती सडक खन्न बाध्य भएका हाँै, बस्नेतले भन्नुभयो । सडक नभएका कारण जिल्लाकै सबै भन्दा पछाडी परेको गाउँको विकासका लागि आफूले नेतृत्व गरेको उहाँको भनाइ छ ।
चौतर्फी दबाब तथा स्थानीयको अडानलाई थेग्न नसकेपछि गाउँपालिका प्रमुख बाँस्तोला समेत सडक खन्न सहमत भएको स्थानीय बताउँछन् । प्रमुख बाँस्तोलाले भने यस विषयमा केही बोल्न चाहानु भएन । सडक निर्माणसँगै हर्षित भएका स्थानीयले आवतजावतमा सहज हुने बताएका छन् । अहिलेसम्म लामो समय हिड्नु परेको गुनासो गर्दै अब रुङ्गालीको दैनिकी सहज हुने स्थानीय जेबी राईले बताउनुभयो । दैनिक प्रयोगका सामग्री ढुवानी तथा भर्खरै बन्न लागेको भूकम्प पीडितका आवासका लागि आवश्यक सामग्री ढुवानीमा सहज हुने उहाँले बताउनुभयो । यससँगै राजधानी तथा देसका अन्य भागसँग सिधा आवतजावत सहज हुने स्थानीय बताउँछन् ।