सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको विस्तार कार्यालय स्थापना भएको छ । विशेष गरी माथिल्लो सगरमाथाका तीन जिल्लालाई केन्द्रित गरी चिया तथा कफीको सम्भाव्यता अध्ययन तथा व्यवस्थापन गरी कृषकलाई त्यसतर्फ आकर्षण गर्न कार्यालय स्थापना गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिनुभयो ।
सोलुखुम्बुको करिब केन्द्रमा पर्ने र सबैभन्दा उपयुक्त स्थान भएकाले साविकको काँगेल गाविस तथा हालको थुलुङदुधकोशी गाउँपालिकाको काँगेलमा एक करोड ७१ लाखको लागतमा १५ कोठे भवन निर्माण गरिसकिएको र यही वर्षबाट कर्मचारी व्यवस्थापन गरी काम शुरु गर्ने गौतमले बताउनुभयो । यस कार्यालयले सम्पूर्ण सरोकारवालाहरुको सहभागितामा चिया तथा कफी सम्बन्धी उत्पादन प्रशोधन तथा बजार व्यवस्थापनलगायतका सबै काम गर्ने उहाँको भनाइ छ ।
पर्यटकीय क्षेत्रका रुपमा परिचित सोलुखुम्बुमा कृषिको समेत प्रचुर सम्भावना भएकाले अब विदेसिएका यूवालाई समेत देसभित्रनै रोजगारीको सिर्जना गरी कृषिमा अब्बल बनाउन यस्ता कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयका सहसचिव डा. योगेन्द्रकुमार कार्कीले बताउनुभयो । जहाँ जे कुराको सम्भावना छ त्यही कुराको विकास गर्ने लक्ष्यअनुसार सोलुखुम्बुमा चिया तथा कफीको विस्तार गर्न लागिएको उहाँ बताउनुहुन्छ ।
उहाँकाअनुसार ओखलढुङ्गाको मानेभञ्ज्याङ नजिकको रमितेडाँडादेखि सोलुखुम्बुको तिङ्लाको माथिल्लो भागसम्म चियाको अत्यिधिक सम्भावना रहेको छ भने जिल्लाको तल्लो भेगमा कफीको सम्भावना रहेको छ । नेपाल सरकारले किसानसँग साझेदारीका माध्यामबाट नर्सरी विकास गरी सबैलाई सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । माटो परीक्षण गरी भूमि व्यवस्थापन गर्दै काम गरिने उहाँले बताउनुभयो ।
कार्यालय स्थापनाका लागि स्थानीय रुद्रकुमारी बरुवालले साँढे चार रोपनी जग्गा निःशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो । पछिल्लो समय परम्परागत कृषिबाट निराश बनेका ग्रामिण कृषकलाई आधुनिक कृषि उत्पादनतर्फ आकर्षण गर्नका लागि स्थापना हुने यस कार्यालयले गाउँको विकासका गर्ने विश्वासका साथ आफ्नो भएभरको जग्गा निःशुल्क दिएको उहाँले बताउनुभयो ।
आफ्नै गाउँमा व्यवसायिक रुपमा चिया तथा कफीको विस्तार कार्यक्रम हुने भएपछि स्थानीय यूवा समेत उत्साहित भएका छन् । खेती योग्य जमिन बाँझै हुन थालेका बेला व्यवसायिक कृषिमा युवालाई आकर्षण गरी विदेसिनबाट रोक्न यस कार्यक्रमले सहयोग गर्ने भन्दै स्थानीय यूवा सौरभ बरुवालले खुशी व्यक्त गर्नुभयो । रोजगारीका लागि विभिन्न देसमा ज्यान जोखिममा राखेर परिवार धान्नका लागि विदेसिएका यूवालाई स्वदेसमा काम गर्ने उत्प्रेरणा प्रदान गरी मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने उहाँको भनाइ छ ।