गर्भपतन गराउनेमा अविवाहितको संख्या उच्च, कस्ता महिलाले गर्छन् गर्भपतन ??

सन्तोष राउत/सोलुखुम्बु । सरकारले सुरक्षित गर्भपतन निःशुल्क रुपमा गर्ने व्यवस्था मिलाएको छ तर पछिल्लो समय त्यसले विकृतिको रुपमा लिन थालेको छ । सामान्यतया गर्भ रहने उमेर २० वर्षमाथि मानिन्छ तर सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा १३ वर्षिया बालिकासम्म गर्भपतन गर्न आउँछन् भन्दा पत्यार नलाग्न सक्छ । तर सोलुखुम्बुमा एक १३ वर्षिय बालिका गर्भपतन गर्न आएको पाइन्छ ।

पछिल्ला समयमा गर्भपतन सेवा लिनेको संख्या सोलुखुम्बुमा उच्च रहेको पाइएको छ । करिब एक लाख छ हजार जनसंख्या रहेको सोलुखुम्बुमा महिनामा करिब एक सय जना भन्दा बढीले अस्पतालमा आएर वैधानिक रुपमा गर्भपतन गरिरहेको जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत डाक्टर राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । प्रतिशतका आधारमा हेर्ने हो भने यो धेरै मानिन्छ ।

उहाँकाअनुसार अवैधानिक रुपमा विभिन्न तरिकाबाट गोप्य रुपमा असुरक्षित गर्भपतन गर्नेको संख्या झनै उच्च रहेको छ । प्रत्येक महिना असुरक्षित तथा अवैधानिक रुपमा गर्भपतन गरी स्थास्थ्य खराब भएर उपचारका लागि ८÷९ जना आउने गर्दछन् । ग्रामिण भेगमा रहेका स्वास्थ्यकर्मीबाट यस्तो असुरक्षित गर्भपतन धेरै हुने गरेको उहाँको भनाइ छ ।

सबैभन्दा कम उमेरकी एकजना १३ वर्षिया बालिकाको गर्भपतन गरेको सम्झदै डाक्टर बस्नेतले अविवाहित किशोरी तथा क्याम्पसका विद्यार्थी अत्यधिक मात्रामा आउने गरेको बताउनुभयो । यसका साथै श्रीमान वैदेशिक रोजगारीमा गएका तथा घर भन्दा टाढा रोजगारीका क्रममा गएका परिवारका महिलाहरुको संख्या पनि त्यत्तिकै रहेको छ । गर्भपतनका लागि केही समुदायबाट धेरै आउने गरेको छन् ।

गर्भपतनका लागि एउटै महिला एक वर्षमा तीन पटकसम्म पनि आउने गरेको भन्दै उहाँले पछिल्ला दिनमा गर्भपतन सेवा निःशुल्क हुनु, क्याम्पस पढ्ने किशोरीहरुमा यौन कौतुहलता बढी हुनु तथा जिल्लामा सुरक्षित भर्गपतन सम्बन्धी चेतनामूलक कार्यक्रम हुन थालेपछि जस्ता कारणले गर्भपतन गर्नेको संख्या बढेको बताइन्छ । यस्तो सेवा अति गोप्य रुपमा दिइन्छ ।
डाक्टर बस्नेतकाअनुसार जिल्लामा सुरक्षित गर्भपतन सम्बन्धी सेवा जिल्ला अस्पतालमा मात्र गर्न पाइने र प्राथमिक स्वास्थ्य केन्द्र सेताङ र नेले स्वास्थ्य चौकीबाट औषधी दिने सुविधा छ । अन्य स्थान र ब्यक्तिबाट गरिएको गर्भपतन सेवा असुरक्षित र गैरकानुनी सेवा मानिन्छ । सुरक्षित गर्भपतन सेवा दिने स्थानमा सेवा सम्बन्धी लोगो राख्ने ब्यवस्था गरिएको छ ।

नेपाल सरकारको प्रावधानअनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ भने आमाको स्वास्थ्य प्रतिकूल असर गर्ने भएमा र हाडनाताकरणी वा बलात्कारबाट रहन गएको १८ हप्तासम्मको गर्भ गर्भपतन गर्न सकिन्छ । गर्भमा रहेको बच्चाको कारण आमाको ज्यान जोखिममा पर्ने भएमा जुनसुकै समयमा पनि गर्भपतन गर्न सकिन्छ ।

गर्भपतन अर्थात पाठेघर सफा गर्दा विभिन्न किसिमका जटिलताहरु समेत आउन सक्छन् । यस क्रममा रगत बढी बग्ने र रगतको अभाव भएमा ज्यानै जान सक्ने, मेशिनले सफा गर्दा पाठेघर फुट्न सक्ने, दुखाईका कारण बेहोस हुन सक्ने समस्या आउन सक्छ । हालसम्म कुनै समस्या नआएको भन्दै डाक्टर बस्नेतले सामाजिक रुपमा असर नपर्ने गरी गोपनीयता कायम हुने, मानसिक तथा शारीरिक स्वास्थ्य परामर्श दिइने भएकाले सेवाग्राहीको सकरात्मक प्रतिक्रिया रहेको बबताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार