सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा अवस्थित माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले गाउँसभाको निर्णयविपरित गाउँपालिकाको केन्द्र सिफारिस गरेको खुलासा भएको छ । गत पुस १३ गतेको पहिलो गाउँसभाबाट केन्द्रबारे पारित भएको निर्णयमा गाउँपालिकाको केन्द्र ‘वडा नम्बर ३ को बासा स्वास्थ्य चौकी नजिकैको माझगाउँखोला सोमबारे खास्ताप बासा मुनीदेखि दाम्कु हाल रहेको गाउँपालिकाको कार्यलयसम्मको सडक आसपासमा राख्ने उल्लेख गरिएको छ ।
उनले त्यही पहिलो गाउँसभाको ३६ जनप्रतिनिधिको हस्ताक्षर देखाएर गाउँपालिकाको केन्द्र खास्ताप, बासामा राख्ने एकल सिफारिस गरेपछि २०७४ फागुन १४ गते राजपत्रमा प्रकाशित भएको थियो । अध्यक्ष राईले मन्त्रालयमा पेस गरेको सिफारिस पत्रमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद २ दफा ४ को उपदफा ५ अनुसार गाउँपालिकाको २०७४ साल पुस १३ गते बसेको गाउँ सभामा निर्णयअनुसार केन्द्र सार्ने प्रस्ताव गरिएको उल्लेख छ ।
यस सम्बन्धमा बुझ्दा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको संघीय महाशाखाले अध्यक्षको सिफारिसअनुसार गाउँपालिकाको केन्द्र खास्ताप राखेर राजपत्रमा प्रकाशित गरेको जनाएको छ ।
अध्यक्ष राईको घर पनि खास्ताप, बासा नै हो । त्यसोत राजपत्रमा सुचना प्रकाशित भएलगत्तै अध्यक्षले गाउँसभाको निर्णयलाई तोडमोड गरेर गाउँपालिकाको केन्द्र आफ्नो आगनमा लगेको भन्दै विरोध सुरु भएको छ । अहिलेको दाम्कुबाट केन्द्र सार्न नहुने आवाज गाउँसभाको निर्णय हुनुअघिदेखि नै उठ्दै आइरहेको थियो ।
गाउँपालिकाको केन्द्र सार्ने अध्यक्षको पछिल्लो सिफारिसविरुद्ध वडा अध्यक्षहरु पनि देखिएका छन् । वडा अध्यक्षहरु अध्यक्षको हर्कतविरुद्ध अदालतको ढोका ढक्ढकाउने तयारीमा जुटेको जानकारी शिखरपोष्टलाई प्राप्त भएको छ ।
अध्यक्ष राईले भने केन्द्रको विषयमा गाउँसभाले पारित गरेकै निर्णयलाई आधार मानेर आफुले सिफारिस गरेको बताए । ‘गाउँपालिकाको केन्द्रबारे मैले व्यक्तिगत रुपमा कुनैपनि निर्णय गरेको छैन । सबैको बहुमतले जे पारित गरेको छ त्यही कुरा सिफारिस गरिएको हो । गाउँसभाले खास्ताव बासा नै निर्णय गरेको थियो त्यही हामीले पठाएका हौं ।’
केन्द्रबारे गाउँसभाको निर्णय भइसकेपछि गाउँपालिकाले केन्द्रको लागि कम्तिमा ५० रोपनी जग्गा निशुल्क उपलब्ध गराउनका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो । सोही सूचनालाई आधार मान्दै २०७४ साल फागुन १३ गते वडा नम्बर २ खाली राप्छाबाट निशुल्क जग्गा उपलब्ध गराउने व्यहोरासहितको पत्र दर्ता भएको छ । त्यसबाहेक अहिलेसम्म कतैबाट पनि सिफारिस भएको छैन । source : Shikharpost.com
गाउँसभाबाट पारित भएको निर्णय
अध्यक्ष राईले गरेको सिफारिस पत्र
केन्द्रको विषयमा सामाजिक सञ्जालमा पोखिएको प्रतिक्रिया