शिक्षक गठबन्धनलाई हराउँदै शिक्षक संघ विजयी, अध्यक्षमा बाँस्तोला


सन्तोष राउत/सोलुखुम्बु । नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला अधिवेसनमा नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनको संयुक्त गठबन्धनलाई ४१ मतान्तरले हराउँदै नेपाल शिक्षक संघ विजयी भएको छ । अधिवेसनले समहतिमा नेतृत्व चयन गर्न नसकेपछि भएको मतदानबाट नेपाली काँग्रेसको सुभेच्छुक संस्थाका रुपमा चिनिने संघले महासंघको पहिलो नेतृत्वमा कब्जा जमाएको हो ।

निर्वाचन संयोजक विदुरकुमार लामिछानेकाअनुसार कुल एक हजार ११८ मत खसेकोमा ५६३ मत ल्याएपछि शिक्षक सघंको तर्फबाट शिक्षक महासंघको अध्यक्षमा नेपाल शिक्षक संघका वर्तमान अध्यक्ष समेत रहनुभएका लालप्रसाद बास्तोला विजयी हुनु भएको हो । शिक्षक गठबन्धनले ५२२ मत प्राप्त गरेपछि अध्यक्षमा सिफारिस हुनुभएका गोबिन्द बस्नेतले अध्यक्ष बन्न सक्नु भएन । दोस्रो मत पाउने संगठनले सचिब सहित केही पद पाउने छ । निर्वाचनमा ३६ मत बदर भएको हो ।

त्यस्तै, स्थानीय तह अन्तरगत एक नगरपालिका र चार गाउँपालिका सहित पाँच तहमा नेपाल शिक्षक संघ विजयी भएको छ भने शिक्षक गठबन्धन तीन वटा गाउँपालिकामा विजय भएको छ । सोलुदुधकुण्ड नगरपालिमा नेपाल शिक्षक संघका रोहितकुमार कार्कीले १६८ मतप्राप्त गरी विजय हुनुभएको छ भने शिक्षक गठबन्धनको ११६ मत रहेको छ ।

नेचासल्यान गाउँपालिकामा नेपाल शिक्षक संघका अशोककुमार शर्माले १०२ मत प्राप्त गरी बिजय हुनुभएको छ भने शिक्षक गठबन्धनको ८२ मत रहेको छ । सोताङ गाउँपालिमा नेपाल शिक्षक संघका विजय नाछिरिङले ५३ मत प्राप्त गरी बिजय हुनु भएको छ भने गठबन्धनले ४६ मत प्राप्त गरेको छ । थुलुङ दुधकोशी गाउँपालिकामा नेपाल शिक्षक संघका डण्डीकेशर शर्माले ११४ मत प्राप्त गरी बिजय हुनु भएको छ भने शिक्षक गठबन्धनले १११ मत प्राप्त गरेको छ ।
त्यस्तै, महाकुलुङ गाउँपालिकामा नेपाल शिक्षक संघका लबकुमार राईले ४८ मत प्राप्त गरी विजयी हुनु भएको छ भने गठबन्धनले १३ मत प्राप्त गरेको छ ।

खुम्बुपासाङल्हमु गाउँपालिकामा शिक्षक गठबन्धनले २६ मत प्राप्त गरी बिजय भएको छ भने नेपाल शिक्षक संघको १६ मत रहेको छ । लिखुपिके गाउँपालिकामा शिक्षक गठबन्धनका प्रेमबहादुर बस्नेतले ५० मत प्राप्त गरि बिजय हुनु भएको छ भने शिक्षक संघले १५ मत प्राप्त गरेको छ । माप्य दुधकोशीमा शिक्षक गठबन्धनले ८० मत प्राप्त गरी विजयी भएको छ भने शिक्षक संघको ४१ मत रहेको छ ।

निर्वाचनमा नेपाल शिक्षक संघ, शिक्षक गठबन्धन र अखिल नेपाल प्रगतिशिल शिक्षक संगठनले भाग लिएका थिए । प्रगतिशिलले भने दुई मत मात्र पाएको छ । शिक्षक महासंघमा प्रथम मत ल्याउनेले अध्यक्ष सहित केही पद पाउँछ भने दोस्रो हुनेले सचिव सहित केही पद पाउँछ । कार्यसमितिमा समावेश हुनका लागि दुई प्रतिशत मत पाउनुपर्ने प्रावधान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार