अग्रेजी तालिम पाएपछि उत्साहित ‘मास्टर साब’

सन्तोष राउत/सोलुखुम्बु । शुरुमा तालिममा सहभागी हुन आउँदा मनमा कताकता डर र लाज लागिरहेको थियो, जब तालिममा सहभागी भएर अंग्रेजी भाषालाई १० दिनसम्म अभ्यास गर्दा अब अंग्रेजी माध्यमबाटै शिक्षण गर्न सकिन्छ भन्ने आत्मविश्वास जागेको छ, जनता माध्यामिक विद्यालय लोखिमकी शिक्षिका धनरुपा राईले उत्साहित हुँदै भन्नुभयो । सरकारी विद्यालयमा पढेर शिक्षण पेशामा आउनुभएकी राईले अंग्रेजीमा पढाउन सकिन्छ होला भनेर कल्पना नगरेको भन्दै अब हिम्मत बढेको बताउनुभयो ।

सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका र सोताङ गाउँपालिकामा रहेका सरकारी विद्यालयका शिक्षकलाई दिइएको अंग्रेजी विषयको तालिमले उहाँ जस्ता ७७ जना शिक्षकमा यस्तै उत्साह जागेको छ । थुलुङ दुधकोशीका ४० जना र सोताङका ३७ जना आधारभूत तहका शिक्षकहरुलाई विगत लामो समयदेखि सोलुखुम्बुमा शिक्षक तालिम सञ्चालन गर्दै आएको संस्था ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड) नेपालले जिल्ला शिक्षा कार्यालय र शैशिक जनशक्ति विकास केन्द्रको सहकार्यमा अंग्रेजी माध्यमको तालिम दिएको हो ।

वर्तमान अवस्थामा अंग्रेजी भाषा अनिवार्य र महत्वपूर्ण हुँँदै गैरहेको र अभिभावकहरु अंग्रेजी भाषाकै निम्ति नीजि विद्यालयमा बढी आकर्षित भएका कारण सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन पनि अंग्रेजी माध्यमको आवश्यकता भएको विद्यालय र गाउँपालिकाको अनुरोध भएपछि तालिमको आयोजना गरिएको रीड नेपालका जिल्ला प्रबन्धक प्रेमप्रसाद धितालले बताउनुभयो ।

अग्रेजी भाषाले सिकाइ उपलब्धि तत्कालै नबढेपनि विश्व बजारमा प्रतिस्पर्धा गर्न र अहिलेको आवश्यकताअनुसार अंग्रेजी माध्यम अनिवार्य जस्तै भइसकेकोले विद्यालयमा अंग्रेजी माध्यम सुरु गर्नका लागि पुराना शिक्षकहरुलाई पठनपाठनमा असहज भएकाले तालिमले शिक्षकहरुलाई सहयोग पुग्ने जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले जनाएको छ ।
त्यस्तै, जीबन ज्योतिमावि नेलेकी शिक्षिक रुरुकला बस्नेतले आफँले अंग्रेजी मध्यमबाटै शिक्षण गरिरहेको भएतापनि तालिमबाट धेरै नयाँ ज्ञान सीप हासिल गरेको र कक्षा शिक्षणमा सहजता हुने भन्दै खुसी व्यक्त गर्नुभयो ।

तालिम शैक्षिक जनशक्ति विकास केन्द्रबाट मान्यता प्राप्त तालिम भएको र तालिम पश्चात सहभागीले गर्नुपर्ने परियोजना कार्यको चरण पुरा गरेपछि पेसागत विकासको प्रमाणपत्र शैशिक जनसक्ति विकास केन्द्रबाट जिल्ला शिक्षा कार्यालय र रीड नेपालको पहलमा प्राप्त गर्ने भएकोले तालिममा सहभागीहरु निकै मिहिनेतका साथ सक्रिय रुपमा सहभागी भएको रीड नेपालका शिक्षा विकास अधिकृत केशव गिरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार