शिक्षक संघको का.बा. अध्यक्षमा बस्नेत 

सन्तोष राउत/सोलुखुम्बु। नेपाल शिक्षक संघ सोलुखुम्बुको कार्यबाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र कुमार बस्नेतलाई दिइएको छ। नेपाल शिक्षक संघ सोलुखुम्बुको सोमबार बसेको बैठकले नेपाल शिक्षक संघको विधानको नियम ५.७ को उपनियम ५.७.४ को अधिनमा रही उपाध्यक्ष बस्नेतलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।
संघका अध्यक्ष लालप्रसाद बाँस्तोला नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि उक्त पद रिक्त भएको थियो। जिम्मेवारी पाएसंगै बस्नेतले नेपाल शिक्षक संघलाई अझ थप मजबुत बनाउन शिक्षकको पेशागत सुरक्षामा कुनै सम्झौता नगर्ने र सक्दो शिक्षकको हितमा काम गर्न लागिपर्ने बताउनुभयो।
सोही बैठकले शिक्षक महासंघ सोलुखुम्बुको निर्वाचनमा सक्रिय सहभागिता जनाई संघको पक्षमा मतदान गर्ने सबै शिक्षकलाई धन्यवाद ज्ञापन गरेको छ। साथै नव निर्वाचित अध्यक्ष लालप्रसाद बाँस्तोला, क्षेत्रीय सदस्यमा निर्वाचित भलाकाजी मगर र   धन्दीराम राईलाई बधाई तथा सफल कार्यकालको सुभकामना दिएको छ।
सोही अवसरमा नेपाल शिक्षक संघको तर्फबाट महासंघको चुनावमा सबैभन्दा धेरै शिक्षक उपस्थित गराउने नगर गाउंपालिका मध्ये महाकुलुङ गाउँपालिकाको नेपाल शिक्षक संघ स्थानीय समितिलाई  १० हजार रुपैयाँ नगद र सम्मान पत्र सहित सम्मान गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार