टेलिफोन र इन्टरनेट अवरुद्ध हुँदा समस्या


सोलुखुम्बु । तीन दिनदेखि नेपाल टेलिकम सोलुखुम्बुबाट वितरित सबै सेवा अवरुद्ध भएपछि समस्या भएको छ । सदरमुकाम तथा आसपासका क्षेत्रमा आइतबारदेखि इन्टरनेट तथा टेलिफोन सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो । जिल्लामा सञ्चालित इन्टरनेट सहित नमस्ते, सिडिएमए प्रविधिका सबै सेवा अवरुद्ध भएपछि सदरमुकाम सञ्चार बिहीन भएको छ ।

पत्तालेको रिपिटर टावरमा पानीसँगै परेको चट्याङका कारण लाखौँको समानमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम सोलुखुम्बुलका प्रमुख श्याम कठायतले जानकारी दिनुभयो । उहाँकाअनुसार पत्तालेको टावरमा विभिन्न सामग्रीहरुमा ठुलो क्षति भएकाले तत्काल स्थानीय साधन स्रोतबाट सञ्चालनमा ल्याउन नसकिएको हो । नेपाल टेलिकमको क्षेत्रीय कार्यालय विराटनगरमा जानकारी भइसकेको र जति सक्दो छिटो प्राविधिक सहित आवश्यक सामान लिएर टोली आउने उहाँले बताउनुभयो ।

सेवा अवरुद्ध भएपछि सर्वसाधारण मात्र होइन बैकिङ्ग क्षेत्र बढी प्रभावित भएको छ । इन्टरनेट नहुँदा भूकम्प पीडितको पहिलो किस्ता रकम भुक्तानी समेत हुन नसकेको राष्ट्रिय वाणिज्य बैङ्क सल्लेरीले जनाएको छ । आइतबार दिउँसोदेखि इन्टरनेटले काम नगर्दा बैङ्कमा एबिबिएसलगायत अधिकांस सेवा सञ्चालनमा कठिनाइ भएको छ । पछिल्लो समयमा राष्ट्रिय बाणिज्य बैङ्कले एबिबिएस सेवा तथा सबै काम अनलाइनबाट गर्ने भएकाले ग्राहकलाई समयमा सेवा दिन नसकेको राष्ट्रिय बाणिज्य बैङ्क सल्लेरीका कर्मचारीले बताए ।

त्यस्तै, अधिकांश काम इन्टरनेटबाट हुने भन्दै सेवा नचल्दा देश विदेशबाट पठाएको पैसा निकाल्न नसकिने भानुभक्त उपाध्यायले बताउनुभयो । नागरिकहरुलाई सूचना उपलब्ध गराउने सञ्चारक्षेत्र समेत प्रभावित बनेको जिल्लामा रहेका संचार गृहहरुले बताएका छन् । जिल्लामा सञ्चालित एफ.एम. रेडियो, अनलाईन पत्रिका सञ्चालमा समस्या भएको संचारमाध्यामहरुले बताएकाछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार