सन्तोष राउत/सोलुखुम्बु । हरेक आर्थिक क्षेत्रको तथ्याङ्क अद्यावधिक गरी चाहेको समयमा प्रयोग गर्नका लागि नेपालमा पहिलो पटक गरिन लागेको आर्थिक गणना कार्यक्रम २०७५ का लागि सोलुखुम्बुमा कार्यालय स्थापना गरी काम थालिएको छ । वैशाख १ गतेबाट सुरु हुने गणनाका लागि सदरमुकाम सल्लेरीमा तयारीको काम सुरु भएको हो ।
प्रारम्भिक चरणमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आर्थिक गणना जिल्ला समन्वय समिति गठन गरिएको सोलुखुम्बुका आर्थिक गणना अधिकृत सुवास राईले जानकारी दिनुभयो । समितिले जिल्लाका लागि आवश्यक पर्ने गणकहरुको छनोट तथा तालिमको व्यवस्था गरी फिल्डमा पठाउने राईले बताउनुभयो ।
जिल्लामा रहेको सबै आर्थिक एकाईको तथ्याङ्क सङ्कलन गर्नका लागि असार मसान्तसम्म कार्यालय रहने छ । चैत महिनाभरी गणकको व्यवस्थापनलगायत तयारी पूरा गर्ने र वैशाखबाट प्रत्येक एकाईमा पुगेर तथ्याङ्क सङ्कलन गर्ने राईले बताउनुभयो । सोलुखुम्बुका लागि २७ जना गणकको व्यवस्था हुने उहाँको भनाइ छ ।
जाइकाको सहयोगमा हुन लागेको यस कार्यक्रममा स्थायी र समय सापेक्ष दुई किसिमका व्यवसायको तथ्याङ्क सङ्कलन गरिने सोलुखुम्बु समेत कार्य क्षेत्र रहेको केन्द्रिय तथ्याङ्क विभागको तथ्याङ्क कार्यालय आखलढुङ्गाका प्रमुख तथा अर्थिक गणना अधिकृत राजेस दासले बताउनुभयो ।
उहाँकाअनुसार ओखलढुङ्गामा २० जना र सोलुखुम्बुमा २७ जना गणकले ४५ दिनसम्म प्रत्येक व्यवसायीको प्रत्यक्ष सम्पर्क व्यवस्था गरिने छ । गणनाको क्रममा समस्या आएमा गणक परिवर्तनका लागि तीन जना कार्यालयमा रिजर्भ रहनेछन् ।