तीन वर्षमा पनि बनेन भवन, ठेकेदार वेपत्ता

सन्तोष राउत/सोलुखुम्बु । जिल्ला वन कार्यालय सोलुखुम्बुको निर्माणधीन भवन तीन वर्ष देखि अलपत्र बनेको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण भवन अलपत्र बनेको हो । शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्तरगत शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गा मार्फत २०७१ साल माघ २० गते एक करोड २९ लाख रुपियाँमा दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी निलगिरी निर्माण सेवाले जिम्मा लिएको उक्त भवन निर्माण कम्पनीको लाहापर्वाहीका कारण हाल अलपत्रमा अवस्थामा छ ।


सम्झौताअनुसार म्याद नाघेको वर्षदिन बितिसक्दा पनि निर्माण कम्पनी सम्पर्कमा नआएकाले जिल्ला वन कार्यालय सोलुखुम्बुले शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गालाई लिखित पत्र नै काटेर ताकेता गरेको भएपनि कुनै चासो नदिएको जिल्ला वन कार्यालयका निमित्त प्रमुख कृष्णबहादुर थापाले बताउनुभयो । उहाँकाअनुसार अहिले कार्यालय भएको भवन भूकम्पबाट क्षति भएर जीर्ण भएकाले जोखिम लिएर बस्ने परेको र वर्षायाममा पानी चुहिएर कागजपत्र भिज्ने समस्या भएको छ । विभिन्न फाँटका लागि समेत ठाउँको अभाव रहेको उहाँको भनाइ छ ।
समयमानै निर्माण सम्पन्न नभएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको पहलमा २०७३ साल चैत्र मसान्तभित्र निर्माणको काम सक्ने ठेकेदार कम्पनीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका भएपनि त्यो कागजमा मात्र सिमित रह्यो । प्रतिबद्धता करार पत्रअनुसार भवन डिभिजनबाट थप करिब २० लाख रुपियाँ समेत भुक्तानी दिए पनि प्रगति भने शुन्य छ ।
स्थानीयस्तरमा निर्माणको जिम्मा लिनुभएका बुद्धि मगरले निर्माण कम्पनीको नाममा बजेट निकासा गरेर कम्पनीले आफुले काम गरेजति बजेट नदिएकाले काम नगरेको बताउनुभयो । काम लगाएका मजदुरलाई पैसा दिन नसकेपछि काम रोक्न बाध्य भएको उहाँको भनाइ छ । निर्माण कम्पनीका ठेकेदारलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
भवन अलपत्र बन्दा भवनमा प्रयोग गरिएको काठहरु समेत कुहिन थालिसकेको छ । अन्य निर्माणका सामाग्री लथालिङ् छाडिएको छ । काम गरेअनुसार कम्पनीले समयमा भुक्तानी नदिएको भवन डिभिजनका प्रमुखलाई पनि जानकारी गराए पनि कुनै वास्ता नगरेको निर्माणकर्ता मगरले भन्नुभयो ।
यता भवन डिभिजन कार्यालय ओखलढुङ्गाका प्रमुख सुवास बस्नेतले निर्माण कम्पनीलाई पटक पटक पत्राचार गर्दा समेत वास्ता नगरेपछि कानुनी प्रक्रिया शुरु गरेको जानकारी दिनुभयो । अब पनि काम अघि नबढाए यसअघि निकासा दिएको रकम फिर्ता गरी ठेक्का तोडेर अन्य तरिकाले भवन निर्माण गर्ने प्रक्रिया अघि बढाउने प्रमुख बस्नेतले बताउनुभयो ।
भवन डिभिजन कार्यालयले रनिङ बिलअनुसार ६२ लाख ५० हजार रुपियाँ भुक्तानी गरेको छ । रकम भुक्तानीलाई हेर्दा पचास प्रतिशत मात्र काम भएको देखिन्छ । तर पेटी ठेकेदार मगरले निर्मानाधीन भवनको ७० प्रतिशत काम सम्पन्न भएको दाबी गर्नुभयो । काम भएअनुसारको रकम भुक्तानी दिएमा एक महिनाभित्र काम सम्पन्न गर्ने मगरले बताउनुभयो ।
भूकम्पले जीर्ण भएको पुरानो भवन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार