नगरपालिकाले बियर बोतल व्यवस्थापनमा कडाई गरेपछि धमाधम संकलन

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको सरसफाईमा समस्याका रुपमा रहेका बियरका बोतलको व्यवस्थापनमा विक्रि केन्द्रलाई कडाई गरेपछि सङ्कलन तिव्र बनाएका छन् । नगरपालिकाले बजारमा बषौँदेखि अलपत्र रुपमा छरिएर रहेका विभिन्न ब्राण्डका बियरका बोतलहरु पुनप्रयोगका लागि नउठाएसम्म सल्लेरीमा सबै कम्पनीका बियर विक्रिमा रोक लगाएको छ ।

‘ग्रिन एण्ड क्लिन नगरपालिका’ अभियान चलाएको सोलुदुधकुण्ड नगरपालिकाले बियर विक्रिमा रोक लगाएको हो । सोलुखुम्बुमा विक्रि हुने विभिन्न ब्राण्डका उत्पादनलाई खाली बोतल फिर्ता नलगेसम्म विक्रीमा रोक लगाइएको मेयर नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो । नगपालिकाले पटक पटक बोतल फिर्ता लैजान आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर विक्रि वितरणमा रोक लगाउनु परेको जनाएको छ ।

बोतल फिर्ता लगेपछि मात्र सिसाजन्य पेयपदार्थ विक्रि खुला गरिने मेयर शेर्पाको भनाइ छ । सिसाका बोतलहरुको उचित व्यवस्थापन नहुँदा सल्लेरीको सुन्दरता बिग्रिएको छ भने दुर्घटनाको सभावना बढ्दै गएको छ । व्यवसाय गर्न छुट भएपनि नगरको सरसफाईलाई ध्यानमा राख्दै कठोर कदम चालिएको मेयर शेर्पाको भनाइ छ ।

नगरपालिकाले चैत २० गतेसम्मको अल्टिमेटम दिएपछि वितरकहरुले सदरमुकाम सल्लेरीमा छरिएका बोतल धमाधम सङ्कलन गरिरहेका छन् । लक्ष्मी स्टोर्सका प्रोपाईटर निबन्ध श्रेष्ठले आगामी चैत्र २० गतेसम्म सल्लेरीमा महिनौदेखि थुप्रिएर रहेको वियरका बोतल फिर्ता लाने बताउनुभयो ।

हाल सोलुखुम्बुमा बार्षिक ५० हजार कार्टुन बियर भित्रिने गरेको लक्ष्मी स्टोर्सले जनाएको छ । यसरी हेर्दा बार्षिक सात लाख २० हजार बियरका बोतलहरु सोलुखुम्बु भित्रिरहेका छन् । तर त्यसको उचित ब्यबस्थापन नहुदा नगरको सुन्दरतासँगै सरसफाईमा पनि चुनौती खडा भएको हो । सल्लेरी बजारका होटलहरुमा मात्रै बर्षमा १० हजार कार्टुन बियर खपत हुने गरेको छ । हाल सल्लेरी बजारमा मात्रै एक लाख भन्दा बढी वियरका खाली बोतलहरु भएको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार