सोलुखुम्बु। साबिकका गाविसको कार्यालयमा हुने सबै काम वडास्तरमा हुने गरी भएको नयाँ संरचनामाअनुसार सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कर्मचारी व्यवस्थापन गर्न नसक्दा सर्वसाधारण जनाताले वडामा हुने पञ्जीकरणको काम गर्न गाउँपालिका धाउनुपर्ने बाध्यता भएको छ ।
दुई वडामा विभाजित साबिकको सल्यान गाविस अर्थात हालको नेचासल्यान गाउँपालिकाको वडा नम्बर १ र २ मा वडा सचिवको व्यवस्था गर्न नसक्दा करिब चार घण्टासम्मको पैदल हिँडेर गाउँपालिका पुग्नुपर्ने बाध्यता भएको स्थानीयले गुनासो गरेका छन् । पञ्जीकरण अन्तरगत पर्ने जन्मदर्ता, मृत्यूदर्ता, विवाहदर्ता, बसाईसराई जस्ता काम वडा सचिवले मात्र गर्न पाउने भएकाले वडामा काम हुन नसकेको हो ।
यस्ता काम जनप्रतिनिधिका रुपमा निर्वाचित वडा अध्यक्षले गर्न नमिल्ने भएकाले गाउँपालिकाबाट काम गर्नु परेको हो । गाउँपालिकाले वडा सचिबको व्यवस्था गर्न नसक्दा जनतालाई अति सास्ती भएको छ, वडा नम्बर १ का वडा अध्यक्ष रमेश राईले भन्नुभयो । दुरीका हिसाबले सबै भन्दा टाढा रहेको यस वडामा स्थानीय तह सञ्चालन सुरु भएदेखिनै वडा सचिवको व्यवस्था नभएको उहाँले जानकारी दिनुभयो ।
स्थानीय चुनावका बेला घर घरमा सेवा दिने प्रतिबद्धता गरेको भएपनि महिनौदेखि पञ्जीकरण जस्ता सामान्य कामका लागि गाउपालिकासम्म धाउन बाध्य भएको स्थानीय तेजबहादुर बस्नेतले बताउनुभयो । विकासे कामका माध्यमले आफ्नो गाँउको मुहार फेरिने आसमा रहेका जनता वडा कार्यालयबाट सामान्य सेवा प्रवाह नहँुदा भने निरास बनेको बस्नेतको भनाइ छ ।
उता गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले कर्मचारी समायोजन नहँुदा सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । कर्मचारी समायोजन ढिलो हुनुको कारणबारे आफुलाई नभई मन्त्रालयमा सोध्न अध्यक्ष बाँस्तोलाले बताउँदै आउनु भएको छ । चुनाव सकिएको महिनौ बितिसक्दा समेत एउटै समस्या अघि सारेर सेवा प्रवाह चुस्त नभएकोमा स्थानीयले गुनासो पोखेका हुन् ।