पुल निर्माणले लियो गति


सन्तोष राउत/खहरेखोला (सोलुखुम्बु)। केही वर्ष अघि ट्रयाक खोलिएको तिङ्लाको रमितेदेखि सल्यान हुदैँ नेचासम्म जाने कच्ची सडक खण्डमा पर्ने सल्यान र नेचाको बिचमा खहरे खोला मोटरेबल पुल निर्माण कार्य तिव्र गतिमा थालिएको छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको करिब चार करोड २३ लाख ९० हजार रुपियाँको लागतमा एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी ए.डी. विल्डर्स काठ्माण्डौँले काम थालेको हो ।

४१.५५ मिटर लम्बाई रहेको पुल स्टिल प्लेट गर्डर प्रविधिबाट निर्माण हुन लागको स्थानीय सडक पुल कार्यक्रमका टेक्निकल अफिसर मनोजकुमार माझीले जानकारी दिनुभयो । गएको असारमा एक वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भएपनि सरकारकै तर्फबाट विभिन्न कारणले समयमा अनुमति दिन नसक्दा ढिला भएको भन्दै माझीले अनुमति पाएका आधारमा काम तिव्र गतिमा सन्तोषजनक रुपमा भइरहेको बताउनुभयो ।

सम्झौता गरेपछि लगातारको निर्वाचनका कारण पुसमा मात्र काम थाल्ने अनुमति प्राप्त भएकाले समयमा सुरु गर्न नसकेको र एकापट्टिको जग निर्माणका लागि जमिनको कमसल आधार भएकाले पुनः डिजाइन परिवर्तन गर्दा फागुनमा मात्र अनुमति पाउँदा यस वर्ष निर्माण नसक्ने निर्माण कम्पनीका साइड इन्चार्ज रिन्जी शेर्पाले बताउनुभयो । निर्धारित समयमा सक्ने योजना लिएको भएपनि समयमा कामको अनुमति नपाउँदा र अब वर्षायाममा काम गर्न नमिल्ने भएकाले वर्षाअघि दुवैपट्टिको पिलर मात्र बनाउने र बाँकी काम हिउँद लागेपछि थाल्ने शेर्पाले जानकारी दिनुभयो ।

तिङ्ला रमिते–सल्यान–केराबारी–नेचा बिहीबारे नाम दिइएको उक्त कृषि सडकमा पर्ने उक्त पुल बनेपछि हिउँद वर्षानै यातायात चल्ने स्थानीयको भनाइ छ । सडकको स्तरोन्नतीसँगै पुल बनेपछि सबै सिजनमा यातायात सञ्चालन हुने नेचाका स्थानीय लोकेन्द्र राउतले बताउनुभयो । पहिला वर्षायाममा करिब तीन चार महिनासम्म यातायात नचलेको अनुभव सुनाउँदै अहिले सडक स्तरोन्नती र पक्की पुल बन्ने भएपछि सजिलो हुने उहाँले बताउनुभयो ।

अहिले त्यस बाटोमा दैनिक दर्जनको हाराहारीमा भाडाका सार्वजनिक सवारी जीप तथा अन्य साधन चलने गरेका छन् । पुलको अभावमा वर्षायाममा सामान ढुवानीमा समस्या भएको र अब पुल बनेपछि ढुवानी सहज हुने स्थानीय बताउँछन् । भूकम्पले सयौँ घर भत्काएको अवस्थामा सरकारले अनुदान दिएपछि घर निर्माण गर्ने स्थानीयका लागि सामान घर छेउमा लैजान सकिने स्थानीय विना राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार