देशकै नमूना र समृद्ध  गाउँपालिका बनाउँछु : प्रमुख राई

एक नगरपालिका तथा सात वटा गाउँपालिका रहेको सोलुखुम्बुको सबै भन्दा ठूलो गाउँपालिका थुलुङ दुधकोशी गाउँपालिका फाराकिलो भूगोलमा छ । यस गाउँपालिकामा शिक्षा, स्वास्थ्य तथा विकास निर्माणको अनगिन्ती चुनौतिका चाङ छन् । करिब एक वर्षअघि भएको स्थानीय तहको निर्वाचनपछि यस गाउँपालिकाले यूवा नेतृत्व पाएको छ । प्रस्तुत छ, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुख असिम राईसँग गाउँपालिकाको विविध विषयमा गरिएको कुराकानीको सारसंक्षेप :

तपाईले थुलुङ दुधकोशी गाउँपालिकाको नेतृत्व सम्हालेको करिब दुई वर्ष हुन लाग्यो, गाउँपालिकालाई कसरी अघि बढाइरहनु भएको छ ?

लामो समयसम्मको स्थानीय निकायको समेत रिक्तता पूरा गर्न हामी स्थानीय तहमा निर्वाचित भएको करिब एक बर्ष भयो । जनप्रतिनिधिका हैसियतबाट सम्पादन गर्नुपर्ने नियमित कामका साथमा केही सैद्धान्तिक, ऐन, नियम तथा नियमावलीहरुको अस्पष्टताको बिचमा सिमित स्रोत साधन र असीमित जनताको अपेक्षालाई सम्बोधन गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना र कार्यक्रम बनाउन महत्वपूर्ण समय खर्चिरहेका छौँ। संघीयता कार्यन्वयनको पहिलो चरण भएकाले हरेक काम जगबाट सुरु गर्नुपर्ने अवस्थामा त्यति सहज नभएपनि धेरै कामको थालनी सुखद रुपमा भएको छ ।

शुरुमानै गाउँपालिकाको नाम जातका आधारमा परिवर्तन गरेको आरोप छ, कसरी सबैलाई अपनत्वको आभाष दिलाउनु हुन्छ ?

गाउँपालिकाको नाम थुलुङ दुधकोशी राखियो जुन जातीय नाम नभै पहिचान र प्राकृतिक स्रोतको अनुपम संयोजन हो । थुलुङ जात नभई सभ्यता हो । जसमा धर्म छ, भाषा छ, सस्कार छ, इतिहास छ, भूगोल छ, समुदाय छ, सामथ्र्य छ, एकमुष्ठमा भन्दा समग्र पहिचान छ ।

जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका तपाईको हो, गाउँपालिकालाई विकासको गतिमा अघि बढाउन के कस्ता अल्पकालीन तथा दिर्घकालीन योजना बनाउनुभएको छ ?

हामीले थुलुङ दुधकोशी गाउँपलिकालाई देशकै समृद्धि र नमूना गाउँपलिका बनाउने योजना बनाएका छौँ। जसका लागि हामीले हाम्रा प्राकृतिक स्रोत र साधनहरुको बिज्ञहरु नियुक्त गरेर म्यापिङ शुरु गरेका छौँ। बिज्ञहरुको रिपोर्ट तयार भैसकेपछि त्यसैको आधारमा सरोकारवालाहरुसँग व्यापक छलफल गरेर नीति तथा कार्यक्रम बनाएर लागू गर्छौं । हामीले गाउँपालिकामा योजना तथा कार्यक्रमहरुको प्राथमिकीकरण आवश्यकताका आधारमा गरेका छौँ। पहिलो सडकको पहुँच, दोस्रो भरपर्दो विजुली, तेस्रो बैज्ञानिक तथा व्यवहारिक कृषि, चौथो गुणस्तरीय प्राविधिक शिक्षा, पाँचौ आमनागरिकको स्वस्थमा सहज पहुँच, छैटौँ जनतालाई स्थानीय सरकारले दिने सेवा सुविधामा सहजता, सातौँ शुद्ध खानेपानी, आठौँ रोजगारीलगायतका महत्वपूर्ण विषय हाम्रो प्राथमिकतामा पर्दछन् । हामीले पालिकाको बृहत्तर श्रीवृद्धिका लागि गाउँपालिकाको पुँजी निर्माण गर्न क्षेत्रसँग समेत महत्वपूर्ण साझेदारी गर्ने योजना बनाएका छौँ ।

स्थानीय तहले धेरै कानुन बनाउनुपर्ने छ, के गर्दै हुनुहुन्छ ?

सम्बन्धित क्षेत्रका बिज्ञ तथा सरोकारवालाहरुसँगको सघन छलफलमा छौं, प्रायः सबै स्थानीय कानुनको मस्यौदा तयार भैसकेको छ । सम्मानित गाउँसभाबाट छिट्टै अनुमोदन गरि स्थानीय वडापत्रमा प्रकाशित गरेर लागू गर्छौं ।

धेरै महत्वपूर्ण तथा संवेशदशील विषय शिक्षा र स्वास्थ्यका क्षेत्रमा गाउँपालिका के गर्दै छ ?

सबैभन्दा बढी चिन्ता र चासो हाम्रा सामुदायिक विद्यालयको गुणस्तरीयतामा कसरी वृद्धि गर्ने भन्नेमा छ । राज्यले यत्रो ठुलो लगानी गरेको संबेदनशील क्षेत्रको हालत औसत भन्दा तल छ । यसलाई सुधार नगरी सुखै छैन । विद्यालय सुधारका प्रारम्भिक कार्यक्रमहरु शुरु गरिसकेका छौँ । हामीले गाउँपलिकास्तरीय शिक्षा विधेयकको मस्यौदा तयार गरेर छलफलमा लगेका छौँ । यसमा गाउँपालिकाको शिक्षा क्षेत्रमा ‘ब्रेक थ्रु’ गर्छ भन्ने विश्वास लिएका छौँ । यो ऐन कार्यान्वयन गर्न हामी निर्मम हुनुपर्ने सम्भावना पनि छ र हामी तयार छौँ । स्वास्थ्य सेवाको स्थिति नाजुक छ । नेपाल सरकारले निःशुल्क दिने घोषणा गरेको औषधी समेत स्वास्थ संस्थामा थिएनन् । हामीले पालिकाबाट तुरुन्त बजेट विनियोजन गरेर स्वस्थ संस्थामा औषधी अभाव हुन दिएका छैनौँ । यो सोलुखुम्बुको ठूलो गाउँपालिका भएको हुनाले पनि सुविधासम्पन्न अस्पताल तुरुन्त स्थापना हुनुपर्छ भनेर हामीले सम्बन्धित मन्त्रालय र विभागमा भनेका छौँ ।

निर्वाचनका बखत प्रस्तुत गर्नुभएका महत्वकांक्षी योजना पूरा गर्न प्राप्त बजेटको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

हामीले निर्वाचन बखत प्रस्तुत गरेका सबै कार्यक्रमहरु प्राथमिकीकरण गरी बिस्तारै लागू गर्दै जानेछौँ । जसका लागि सङ्घीय सरकार, प्रादेशिक सरकारबाट प्राप्त अनुदान तथा हामीले उठाएको आन्तरिक राजस्वलाई नै परिचालन गर्ने हो ।

तपाईले सोलुखुम्बु जस्तो दुर्गम हिमाली जिल्लाको गाउँपालिकामा स्मार्ट सिटी बनाउने महत्वकांक्षी योजना अघि बढाउनुभएको छ, तपाईको कल्पनाको स्मार्ट सिटी कस्तो हुनेछ ?

हामीलाई इतिहासले पहिलो हुने अवसर प्रदान गरेको छ । हामीले गाउँपालिकाको प्रशासनिक केन्द्र, विषयगत कार्यालयलगायत अन्य भौतिक निर्माणहरुलाई व्यवस्थित नगर्ने हो भने भावी पुस्तालाई अफ्ठेरो हुनेछ । सुरुमा सबै योजनाहरु महत्वकांक्षी नै लाग्छन् तर पूरा भएपछि महत्पूर्ण हुन्छन् । त्यसैले गाउँपलिकाको केन्द्रमा हामीले एकीकृत नमूना बस्ती निर्माण गर्ने कार्यक्रम बनाएका छौँ । जग्गा प्राप्ति गर्ने काम भैरहेको छ । बिज्ञहरुले घम् मा डिजाइन गर्दै हुनुहुन्छ । यो स्मार्ट सिटी बनाउने योजना सफल हुने दिशामा अघि बढेको छ र अरु स्थानीय तहले पनि यो कार्यक्रमको अनुशरण गर्नु हुने छ । हामीले लगभग २५० देखि ३०० घरहरु निर्माण गर्ने छौँ । यहाँको प्रकृति र संस्कृति सुहाउँदो आकर्षक र लोभ लाग्दो नमूना बस्ती बन्नेछ ।

समग्रमा, तपाईको पाँच वर्षे कार्यकालमा थुलुङ दुधकोशी गाउँपालिका कस्तो हुने कल्पना गर्नुभएको छ ?

स्थानीय तहको पहिलो हाम्रो कार्यकाल भएकाले कानुनीलगायत विविध विषयको संक्रमणमा शून्यताबाट अघि बढ्नुपर्ने चुनौति र लामो समयदेखि राजीनितक अस्थिरताका कारण शिथिल बनेको जनताको चाहानालाई पूरा गर्दै थुलुङ दुधकोशी गाउँपालिका देशकै नमूना र समृद्ध गाउँपालिका बनाउने सपना लिएका छौँ । भौगोलिक विकटताकाबिच माथिल्ला निकाय समेतको समन्वयमा हामीले यस सपनालाई पूरा गर्न हामी दिनरात लाग्ने छौँ । पाँच वर्षपछि जनताले परिवर्तनको प्रत्यक्ष अनुभूति गर्ने खालका काम गर्दै जनताको समृद्धिको चाहना पूरा गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार