संरक्षणको पर्खाईमा–पूरातात्विक स्थल ग्वान्दा गुम्बा

लामा उगे खाङ्सेल खाङ्डोङले आज भन्दा ४०० वर्ष अगाडी स्थापना गरेको ग्वान्दा गुम्बा सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नं. २ मा अवस्थित छ । यो शेर्पा समुदाय तथा बौद्ध धर्मावलम्बिहरुको अत्यन्तै पुरातात्विक एवं ऐतिहासिक महत्वको गुम्बा हो । यो गुम्बा मेन्चुक खोला र टकर्मा गुम्बाको करिव बिच भागमा अग्लो र विशाल चट्टानी पहराको फेदमा खण्डहरको रुपमा रहेको छ ।

समुद्री सतहबाट ३२७० मि. उचाईमा रहेको पुरातात्विक महत्वको यो स्थल ठुल्सिक रिम्पोछेका चेला कासङ लामाले ई. २००६ मा ३१८५ मि. उचाईमा निर्माण गरेको टकर्मा गुम्बाबाट उत्तरपट्टि करिब आधा घण्टाको पैदल दुरीमा अवस्थित छ । मोपुङ सामुदायिक वन क्षेत्रको घना जङ्गलमा अवस्थित ग्वान्दा गुम्बा नजिकै करिब ५०० मि. दुरीमा ग्वान्दा गुम्बासँगै स्थापना गरिएको पुरातात्विक हिसाबले महत्वपूर्ण रहेको माने पनि देख्न सकिन्छ ।

स्थानियबासी नुर्बु शेर्पाको छोरा काजी शेर्पाकानुसार लामा उगे खाङ्सेल खाङ्डोङ १६ औँ शताब्दीमा खुम्जुङको पाङबोचे गुम्बा निर्माण गर्ने लामा साङवा दोेर्जीको सहकर्मी तिब्बती लामा भएको बताउँछन् । उनी तान्त्रिक थिए, ध्यान तथा तान्त्रिक शक्तिद्वारा जमिनबाट पानी निकाल्दथे । स्थानीय जनश्रुति अनुसार ग्वान्दा गुम्बाको भग्नावशेषको बिच भाग पहराको फेद चट्टानबाट बाहिर पानी निस्कीरहेको छ, जो लामाले तत्कालीन समयमा तान्त्रिक शक्तिद्वारा आफ्नो प्रयोगको लागि निकालेका थिए भने अहिले पनि सो पानी प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ । घना वन क्षेत्रमा रहेको उक्त गुम्बा करिब १५० वर्ष अगाडी वन क्षेत्रमा आगलागी हुँदा गुम्बा पनि जलेर खण्डहरको रुपमा परिणत भएको हो । हाल जलेर बाँकी रहेको तत्कालीन समयकै ढुङ्गा माटोको एक तले गाह्रो रहेको छ । गुम्बा नजिकै कुकुर बाँध्ने ओडार, लामा नाच्ने सानो चौर, किवदन्तीअनुसार लामाको चट्टानमा अङ्कित हत्केलाको छाप, ५०० मि. नजिकै डाँडामा माने आदि देख्न सकिन्छ ।

भग्नावशेषको रुपमा ग्वान्दा गुम्बा, तस्विर–हिमाल गिरी

१५० वर्ष अघि आगलागीबाट गुम्बा क्षतविक्षत भईसकेपछि त्यहाँको देवता जुनवेसी गाउँमा ल्याई सुङ्घीमा गुम्बा स्थापना गरेपछि सो ग्वान्दा गुम्बा एक भग्नावशेषको रुपमा परिणत हुन गयो । ग्वान्दा गुम्बामा रहेको देवता होपद्मे, लामा उगे खाङ्सेल खाङ्डोङले निर्माण गरेको सानो स्तुपा र उनले लगाउने गरेका कपडाहरु अहिले पनि सुङ्घिमा गुम्बामा रहेको छ ।

भग्नावशेषको रुपमा ग्वान्दा  गुम्बा । तस्विर–हिमाल गिरी

ग्वान्दा गुम्बाको स्थापना गर्ने लामा उगे खाङ्सेल खाङ्डोङको देहान्त कहिले कहाँ भयो भन्ने र गुम्बासँग सम्बन्धित अन्य कुराहरु अनुसन्धानकै विषय छ । तीनै लामाको अवतारीको रुपमा किमा शेर्पा लामा प्रकट भएका थिए भनी किमा शेर्पा लामाका नाती काजी शेर्पा बताउनु हुन्छ ।

ग्वान्दाको अर्थ तिब्बती भाषामा देवस्थल अथवा गुम्बा भन्ने बुझिन्छ । त्यही ग्वान्दा शब्द अपभ्रम्स भई गुुम्बा भएको भन्ने पनि पाईन्छ । ग्वान्दा गुम्बा अनुसन्धान र उत्खनन्को आवश्यकतासँगै पर्यटकीय, धार्मिक, ऐतिहासिक र साँस्कृतिक महत्वको स्थल हो । यो पुरातात्विक महत्वकोस्थल विज्ञान वा संरक्षणको दृष्टिकोणले विशेष र विश्वव्यापी महत्वको छ । भग्नावशेषको रुपमा ग्वान्दा माने, तस्विर–हिमाल गिरी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार