सोलुखुम्बुका विद्यालयलाई अष्ट्रेलियामा उत्कृष्ट अवार्ड

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न विद्यालयमा निर्माण गरिएको विद्यालय भवनका लागि अष्ट्रेलियन हिमालयन फाउण्डेशन र इन्जिनियरहरुले अष्ट्रेलियामा उत्कृष्ट डिजाइनको अवार्ड प्राप्त गरेका छन् । गत बिहीबार अष्ट्रेलियाको सिडनीमा रहेको ओपेरा हाउसमा आयोजित कार्यक्रममा उत्कृष्ट डिजाइनका अष्ट्रेलियन हिमालयन फाउण्डेसनलाई अवार्ड प्रदान गरिएको हो ।

ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल) ले वि.सं. २०७२ सालको विनासकारी भूकम्पले क्षति पु¥याएका सोलुखुम्बुका विभिन्न पाँच विद्यालयमा अष्ट्रेलियन हिमालयन फाउण्डेसनको सहयोगमा विद्यालय भवन निर्माण गरेको थियो ।

गोल्ड विनर इन्जिनियरिङ, गोल्ड आर्किटेक्चरल र विनर सोसल इम्प्याक्ट गरी तीन अवार्ड प्रदान गरिएकोमा इन्जिनियर टेलर थोम्सन विटिङ, आर्किटेक्ट केन म्याकब्राइट, डेभिड फ्रान्सिस र डेभेनपोर्ट क्याम्पबेलले अवार्ड प्राप्त गरे । उनीहरुलाई नेपालमा २०७२ सालमा गएको भूकम्पपछि भूकम्प प्रतिरोधात्मक कक्षा कोठा निर्माणका लागि अष्ट्रेलियन हिमालयन फाउण्डेसनले नियुक्त गरेको थियो ।

सोलुखुम्बुमा बनेका पाँच विद्यालयमध्ये गार्मा माध्यमिक विद्यालय गार्मामा निर्माण सम्पन्न गरिएको भवन फरक क्षमता भएका बालबालिकालाई लक्षित गरी निर्माण गरिएको रीड नेपालका प्रबन्धक उज्जवल अमात्यले जानकारी दिनुभयो ।
उत्कृष्ट अवार्ड प्राप्त गर्ने अष्ट्रेलियन इन्जिनियरहरुले दिगो भवन निर्माण हुनु सामाजिक दृष्टिकोणबाट निकै राम्रो शुरुवात भएको भन्दै गाउँको केन्द्रको रुपमा रहने विद्यालय भुकम्पीय जोखिमबाट मुक्त हुनु राम्रो भएको बताए । उनीहरुले राम्रो र सुरक्षित भवन हुँदा बालबालिकालाई मानसिक तनाब र डरबाट समेत उन्मुक्ती दिने बताए ।

अवार्ड वितरण समारोहमा इन्जिनियर डेभिड फ्रन्सिसले विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा स्थानीय अभिभावकसँग भवन निर्माणका क्रममा गरेको कार्य प्रेरणामुलक भएको बताउनुभयो । सोलुखुम्बुको गार्मा माध्यमिक विद्यालय गार्मा, वासा खाली मावि वासा, सिंहकाली आधारभूत विद्यालय तिङला, कालिका आधारभूत विद्यालय नेचा र जनजागृति आधारभूत विद्यालय सल्लेरीमा अष्ट्रेलियन हिमालयन फाउण्डेसनको सहयोगमा रीड नेपालले विद्यालय भवन निर्माण सम्पन्न गरेको छ ।

पाँच विद्यालयमा निर्माण गरिएको विद्यालय भवनमा जम्मा २० वटा कक्षा कोठा रहेको रीड नेपालका सोलुखुम्बु प्रबन्धक कपिलदेव पुरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार