टेलिफोन र इन्टरनेट शुल्क बढ्योः दक्षिण एशियामै नेपालमा सबैभन्दा मंहगो

मिरा बस्नेत/काठमाडौं । नेपाल दुरसञ्चार सेवा प्रदायकहरुले मंगलबारबाट टेलिफोन र इन्टरनेट शुल्क बढाएको छ ।

सरकारले नयाँ बजेटमार्फत दुरसञ्चार सेवाअन्तर्गत टेलिफोन र इन्टरनेटमा १३ प्रतिशत कर लगाएपछि सेवा महंगिंदा सर्वसाधारण मारमा परेका छन् ।

विश्वमा नै टेलिफोन र इन्टरनेट सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने महँङ्गो शुल्क तिर्न बाध्य भएका छन् ।

सरकारले यस वर्षको बजेट मार्फत दूरसञ्चार सेवा दस्तुर बृद्धी गरेपछि मोवाइल डाटा प्याकसहित इन्टरनेट शुल्क १३ प्रतिशत र टेलिफोन भोईस कलको शुल्क २ प्रतिशतले बढेको छ ।

नेपालमा दुरसञ्चार सेवाको करिब एक खर्ब बराबरको बजार छ, जसको अधिकांश हिस्सा नेपाल टेलिकम र एनसेलले ओगटेको छ ।

सरकारले भ्वाइसकलमा ११ बाट १३ प्रतिशत वृद्धि गरेपनि इन्टरनेटमा भने एकैपटक १३ प्रतिशत बढाएको हो ।

नेपाल सरकारले बढाएको ईन्टरनेट शुल्क मुलुकको ब्रोडब्यान्ड नीति विपरित भएको भन्दै चौतर्फी आलोचना भएको छ ।

दक्षिण एशियामै नेपालले सबैभन्दा महङ्गोमा इन्टरनेट प्रयोग गरिरहेको वरिष्ठ अर्थशास्त्री केशव आचार्यको भनाई छ ।

उनले सरकारले अहिले सुचना प्रविधिमा बढाएको शुल्कले प्रयोगकर्ता घट्ने मात्र नभई नेपाल विदेशी लगानी भित्र्याउनेतर्फ लागिरहेको बेलामा यसले विदेशी लगानीलाई प्रोत्साहन नगर्ने बताए ।

सूचना प्रविधिमा आधारित पढाई अगाडी बढाउने, सार्वजनिक विद्यालयहरुमा कम्पयुटरमा आधारित भएर शिक्षा प्रदान गर्ने भन्ने सरकारले नै यस्तो नीति लिनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।

हरेक कुरामा यसरी कर बढाउनु सरकारको पेलाहा प्रवृत्ति भएको उनको भनाइ छ ।

कर बढाएपछि जनतामा तिर्नुको विकल्प नहुने भन्दै उनले सरकारले आफुखुसी काम गरिरहेको बताए ।

निर्वाचनको समयमा स्मार्ट सिटीको सपना बाड्नेहरुले यसरी ईन्टरनेटको शुल्क बढाउने हो भने कहाँबाट बन्छ नेपालमा स्मार्टं सिटी आचार्यको प्रतिप्रश्न छ ।

इन्टरनेटमा बढाएको शुल्क सूचना प्रविधि नीतिविरुद्ध पनि रहेको उनको भनाइ छ ।

संसारमा सस्तिएका प्रविधिमा करको भार थपेर जसरीपनि राजस्व थुपार्ने नीतिले आम सेवाग्राहीलाई थप चेपुवा पार्नेबाहेक अरु केही हुनेछैन ।

source : http://www.imagekhabar.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार