मेयरको दाबबपछि काम नगरी निकासा भएको ३३ लाख रकम फिर्ता

हिमशिखर समाचारदाता/
सोलुखुम्बु । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय सोलुखुम्बुको ढल ब्यवस्थापनका लागि ‘ढल निर्माण तथा प्रशोधन कार्यक्रम’ अन्तरगत आएको ३३ लाख रकम कामै शुरु नगरी भुक्तानी गरेको पाइएको छ । आर्थिक बर्षको अन्तिममा केन्द्रबाट निकासा भएको रकम खोनापनी तथा सरसफाई सव डिभिजन कार्यालय सोलुखुम्बुका प्रमुख कुलप्रसाद शर्माले सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बरमा ६ मा उपभोक्ता समिति गठन गरी कामनै नगराई एकमुष्ट रकम भुक्तानी गरेको खुलासा भएको हो ।

अन्तिम समयको अख्तियारीको कार्यान्वयनका लागि नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले चासो देखाएर कार्यालय प्रमुख शर्मालाई पटक पटक रकमको बारेमा सोधपुछ गर्दा बजेट फ्रिज हुने बताए पनि असार मसान्तमा गुपचुपमा समिति बनाएर चेक नं. ००३४२०००६००२०१ बाट ३३ लाख ४० हजार ६६५ रुपियाँको चेक उपभोक्ता समितिका नाममा भुक्तानी भएको हो ।

रकम भुक्तानीको कुरा बाहिरिएपछि मेयर शेर्पाले अनियमितताको आशंका गर्दै भुक्तानी रोक्नका लागि हस्तक्षेपकारी भुमिका निर्वाह गरेर दबाब दिएपछि खोनापनी तथा सरसफाई सव डिभिजन कार्यालय सोलुखुम्बुका प्रमुख कुलप्रसाद शर्माले बिहीबार कोष तथा लेखा नियन्त्रण कार्यालय सोलुखुम्बुलाई चलानी नं. १ रहेको पत्र मार्फत भुक्तानी रद्द गरिदिन पत्र लेख्नुभएको छ ।

अनियमित रुपमा कागजी फरफारक बनाएर भुक्तानी भएको विषयमा मेयर शेर्पा तथा प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले कार्वाहीको चेतावनी दिएपछि कार्यालय प्रमुख शर्माले कार्बाहीको डरले कोष तथा लेखा नियन्त्रण कार्यालयलाई भुक्तानी रोक्न पत्राचार गर्नु भएको हो ।

कार्यालयले चेक रद्ध गर्न पत्राचार गरेपछि अनियमितता भएको पुष्टि भएको र मिलेमतोमा काम नगरी सम्पन्न भएको प्रतिवेदन बनाएर भुक्तानी दिएको देखिएकाले भ्रष्टाचारको नियत स्पष्ट भएको मेयर शेर्पाले बताउनुभयो । शेर्पाले आफू जनताको प्रतिनिधि भएर नगरपालिकामा रहुन्जेल भ्रष्टचार मुक्त नगरपालिका निर्माण एक मात्र लक्ष्य लिएकाले नगर क्षेत्रभित्र यस्ता खाले अनियमितता हुन नदिने प्रष्ट पार्नु भयो । आफु विकासको पक्षमा रहेको भन्दै मेयर शेर्पाले कामै नगरि रकम झ्वाम गरेर राज्यको रकम दोहन गर्ने प्रबृत्तिलाई सधैँ निरुत्साहित गर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले यो काम अत्यन्तै गलत भएके र जिल्लामा सुशासन कायम गर्न यस्ता खाले कामलाई कडा रुपमा निगरानी गर्ने बताउनुभयो । आफूले गलत कामलाई सच्याउन कार्यालय प्रमुखलाई निर्देशन दिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार