सन्तोष राउत/सोलुखुम्बु । दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकामा लक्ष्मी बैङ्कको शाखा सञ्चालनमा आएको छ । शाखा विस्तार गरेसँगै सोलुखुम्बुका सात वटा गाउँपालिका मध्ये बैङ्क सञ्चालन गर्ने पहिलो गाउँपालिका बनेको छ । हालसम्म नगरपालिकामा मात्र बैङ्क रहेका छन् ।
गाउँपालिकामा मङ्गलबारबाट लक्ष्मी विकास बैङ्कले सेवा शुरु गरेपछि धेरै समय र श्रम खखर्च गरेर सानो रकमका लागि पनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । बैङ्क चाँडो स्थापना गर्नका लागि धेरै मेहेनेत गर्नु परेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । बैङ्ककै लागि भवनलगायत आधारभूत कुराको तयारी गरेर सबै भन्दा पहिला बैङ्क स्थापना गर्न सकेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।
गाउँपालिकामा बैङ्क नभएका कारण हरेक साना योजनाको खातासमेत सदरमुकाममा रहेका बैङ्कहरुमा खोल्न बाध्य हुनुपरेको र हरेक आर्थिक कारोबारका लागि सदरमुकाम धाउनु पर्दा जनतालाई धेरै कठिनाई भएकाले पहिलो प्राथमिकतामा राखेर बैङ्क स्थापनाको पहल गरेको अध्यक्ष राईले बताउनुभयो । बैङ्क नहुँदा नयाँ संरचनाको आभास पाउन नसकेका स्थानीयले अब भने गाउँगाउँमा सिंहदरबारको अुनभुति पाउन सक्ने उहाँको दाबी छ ।
गत आर्थिक वर्षबाट स्थानीय तहमा सबै बजेट पठाएकाले बैङ्क नहुँदा करौँडौको बजेट भुक्तानीका लागि सदरमुकाम धाउनु पर्दा सास्ती भएको थियो । अब कर्मचारी, जनप्रतिनिधि र सर्वसाधरण बैङ्क नभएकै कारण रकम निकाल्न तथा राख्न सदरमुकाम धाउनुपर्ने बाध्यता सकिएको बताउँछन् । सबै स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैङ्क पु¥याउने सरकारको लक्ष्यअनुसार असारभित्र सबै स्थानीय तहमा वाणिज्य बैङ्कलाई शाखा स्थापना गर्न राष्ट्र बैङ्कले दिएको निर्देशन तथा सहमतिअनुसार बैङ्क स्थापना भएको हो ।
सोलुखुम्बु जस्तो दुर्गम जिल्लाको दुर्गम गाउँमा सेवा विस्तार गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेस खालिङले जानकारी दिनुभयो । सबै गाउँपालिकामा विभिन्न बैङ्कहरुले शाखा खोल्नुपर्ने भएपनि सबै भन्दा पहिलो सेवा सुरु गर्नका लागि गाउँपालिका अध्यक्षले धेरै पहल तथा सहयोग गरेकाले सम्भव भएको उहाँले बताउनुभयो । बैङ्कले निक्षेप, कर्जालगायत राजधानीमा दिने सबै सेवा दिने र इन्टरनेट सेवा प्रभावकारी नभएकाले मोबाइल बैङ्किङ र इन्टरनेटका माध्यामबाट दिने सेवाका लागि केही समय लाग्ने उहाँको भनाइ छ ।
सबै भन्दा ठूलो गाउँपालिकामा बैङ्क सञ्चालनमा आएसँगै आर्थिक कारोबारका लागि एक दिनसम्मको यात्रा गरेर सदरमुकाम धाउने बाध्यताको अन्त्य भएको स्थानीय बुद्धिराज राईले बताउनुभयो ।
स्थानीय तहमा जाने पहिलो वाणिज्य बैङ्कलाई स्थानीय तह सम्बन्धी सम्पूर्ण सरकारी कारोबार सञ्चालन गर्न पाउने, बैङ्क तथा वित्तीय संस्थाले स्थानीय तहमा शाखा सञ्चालन गर्दा राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिनुनपर्ने, गाउँपालिकामा वाणिज्य बैङ्कले शाखा खोलेपछि त्यस स्थानमा तीन वर्षसम्म कुनै अर्को बैङ्कले शाखा खोल्न नपाउने र स्थानीय तहमा शाखा स्थापना गर्ने बैङ्कले एक वर्षका लागि प्रतिशाखा एक करोड रुपियाँ निब्र्याजी ऋण पाउने सुविधा दिइएको छ ।